काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच ‘नेपाल पे कार्ड’ सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सम्झौता–पत्र आदानप्रदान गरिएको हो ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियिरिङ हाउस लिमिटेडमार्फत उपलब्ध हुने नेपाल पे कार्ड सेवा प्रणालीको प्रमुख सदस्य बनेको छ । यससँगै बैंकका ग्राहकहरूले निकट भविष्यमा नेपाल पे कार्डसम्बन्धी डिजिटल भुक्तानी सेवाहरू प्रयोग गर्न पाउने बैंकले जनाएको छ ।
कार्यक्रममा नेपाल क्लियिरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड व्यवसाय प्रमुख पबिन्द्र राजभण्डारी तथा कार्ड अपरेशन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो। त्यसैगरी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप–कार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ विभाग प्रमुख गगन सिंह घिमिरे, उपप्रमुख हेमन्त जिसीलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
विसं २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा सेवा विस्तार गर्दै तीन सय १४ वटा शाखा, ७१ एक्सटेन्सन काउन्टर, तीन सय ३२ वटा एटी एम र ९९ शाखारहित बैंकिङमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।