काठमाडौं ,अमेरिकाले नेपाली सेनालाई करिब १०० मिलियन अमेरिकी डलर (झण्डै १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरका ६ वटा हेलिकोप्टर अनुदान स्वरूप उपलब्ध गराउने प्रस्ताव गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको हो। स्रोतका अनुसार, प्रस्तावबारे नेपाली सेनासँग आवश्यक समन्वय तथा छलफल भइरहेको छ। स्रोतका अनुसार, प्रस्तावित हेलिकोप्टरहरू विशेषगरी विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग गर्ने उद्देश्यले प्रदान गर्न लागिएको हो। नेपालजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण देशमा यस्ता हेलिकोप्टरहरूले आपत्कालीन अवस्थामा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अमेरिकाले यसअघि पनि नेपाली सेनालाई हेलिकोप्टर तथा ‘स्काई ट्रक’ विमान अनुदान स्वरूप उपलब्ध गराइसकेको छ। पछिल्लो प्रस्तावलाई पनि सोही सहयोगको निरन्तरताका रूपमा हेरिएको छ। हाल सहयोग स्वीकार गर्ने प्रक्रिया, सञ्चालन तथा व्यवस्थापनको मोडालिटीबारे सरकार र नेपाली सेनाबीच आन्तरिक छलफल जारी रहेको जनाइएको छ।