काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक मेघौलीमा सफारी मार्टको औपचारिक सुरुवात गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा पहिलो वाइल्ड नेपाल सफारी मार्ट २०२६ आयोजना गरिएको हो ।
चितवनको मेघौलीमा मार्टको सुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले यसले नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्याउने बताए । ‘नेपाल केवल हिमालका लागि मात्र होइन, यसको समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि पनि चिनिन्छ । यो सफारी मार्टले बिटुबी नेटवर्किङ र साझेदारी निर्माणका लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको छ’, उनले भने । यस मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन उत्पादन प्रवर्द्धनका नयाँ अवसरहरू खोल्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुंगा भएको बताए । ‘हामी गन्तव्यको प्रवद्र्धन मात्र होइन, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा हातेमालो गर्दै अघि बढ्ने दृष्टिकोणका साथ यो मार्ट सुरुवात गरिरहेका छौं,’ उनले भने, ‘विश्वको ०.१ प्रतिशतभन्दा कम भूभागमा नेपालले बेंगल टाइगर, एकसिङ्गे गैँडा, हिउँ चितुवा र रेड पाण्डाजस्ता अद्वितीय वन्यजन्तु र जैविक विविधता संरक्षण गरेको छ ।’
सीईओ जोशीले भविष्यको पर्यटन केवल आगन्तुक संख्या र आम्दानीमा सीमित नभई वातावरणीय जिम्मेवारीसँग जोडिनुपर्ने बताए । उनले नेपाललाई उच्च मूल्य र प्रकृतिमैत्री पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यो प्लेटफर्मले विश्वव्यापी खरिदकर्ता, संरक्षण सरोकारवाला र स्थानीय समुदायलाई जोड्ने बताए । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न तयार रहेको बताए । उनले स्थानीय सरकारको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्वपूर्ण रहेको उल्लेख गरे ।
शुक्रबारदेखि सुरु भएको यस मार्टमा नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षका प्रमुख तथा प्रतिनिधिहरु, पर्यटन व्यवसायीहरु, प्रकृती संरक्षणविद्हरुले चितवनका विभिन्न पर्यटकीय गन्तव्यको अवलकोन भ्रमणसमेत गर्नेछन् ।