तेहरान । इरानसँग सम्बन्धित युद्धका कारण विश्व बजारमा तेल आपूर्ति गम्भीर रूपमा प्रभावित हुन थालेको छ, जसको प्रभाव अब दैनिक उपभोग्य वस्तुहरूमा पनि स्पष्ट रूपमा देखिन थालेको छ । मध्यपूर्व क्षेत्र विश्वको प्रमुख तेल आपूर्तिकर्ता भएकाले त्यहाँ उत्पन्न भएको तनाव र युद्धले कच्चा तेलको आपूर्ति घटाएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ । तेल केवल इन्धनका रूपमा मात्र प्रयोग हुने होइन, यसबाट बन्ने पेट्रोलियमजन्य रसायनहरू हजारौं वस्तु उत्पादनका आधारभूत कच्चा पदार्थ हुन् । त्यसैले तेल महँगो हुँदा कपडा, खेलौना, जुत्ता, सौन्दर्य सामग्री, औषधि, प्लास्टिकका सामग्री, कम्प्युटर उपकरणदेखि लिएर बालबालिकाले प्रयोग गर्ने रंगीन सामग्रीसम्मको उत्पादन लागत बढ्ने गर्दछ ।
विशेषगरी पोलिस्टर र एक्रिलिकजस्ता कृत्रिम धागो तथा पदार्थहरू, जुन तेलबाटै तयार गरिन्छन्, तिनको मूल्य वृद्धि हुँदा उद्योगहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । केही उत्पादक कम्पनीहरूले युद्ध सुरु भएको छोटो समयमै कच्चा पदार्थको लागत १० देखि १५ प्रतिशतसम्म बढिसकेको बताएका छन्, जसले आगामी दिनमा वस्तुहरूको खुद्रा मूल्य पनि बढ्ने संकेत दिएको छ । यसका साथै पेट्रोल र डिजेलको मूल्य बढ्दा ढुवानी खर्च उच्च भएको छ, जसका कारण खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका आवश्यक वस्तुहरू बजारमा झन् महँगा हुँदै गएका छन् ।
यात्रा क्षेत्रमा पनि यसको असर परेको छ । हवाई इन्धनको मूल्य वृद्धि भएपछि हवाई सेवा प्रदायकहरूले टिकट दर बढाएका छन्, जसले यात्रुहरूलाई अतिरिक्त आर्थिक भार परेको छ । एपी