काठमाडौं,प्रधानमन्त्री वालेन्द्र शाहले गत साता नेपाल भ्रमणमा आएका अमेरिकी उपसहायक विदेशमन्त्री समीर पल कपुरसँगको भेटवार्तालाई रहस्यमय ढङ्गले गोप्य राखेर सबैलाई आश्चर्यचकित बनाएका छन् । अमेरिकी उपसहायक विदेशमन्त्री कपुर अघिल्लो सोमबार अर्थात् अप्रिल २० मा नेपाल आएका थिए । उनले नेपाल आउनेबित्तिकै रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए भने त्यसको भोलिपल्ट मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।
कूटनीतिक सूत्रका अनुसार प्रधानमन्त्री शाहले बुधबार अमेरिकी उपसहायक विदेश मन्त्री कपुरसँग भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री सुनिल लम्सालको निवासमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शाहकै जोडबलमा उक्त भेटवार्तालाई गोप्य राखिएको समाचार स्रोतको दाबी छ । प्रधानमन्त्री शाहले कपुरसँग भेट्दै नभेटेको भनी सामाजिक सञ्जालमा प्रचार गराएर नागरिकलाई किन झुक्याइएको हो, त्योचाहिँ खुल्न सकेको छैन ।