काठमाडौं । नेपाल औषधि व्यवसायी संघ, मधेश प्रदेशका महासचिव पप्पु झाले संस्थागत चेकमा किर्ते हस्ताक्षर गरी व्यक्तिगत प्रयोजनमा रकम भुक्तानी गरेको आरोप सार्वजनिक भएपछि सम्बन्धित बैंक तथा निकायले संघको उक्त एकाइलाई कालोसूचीमा राखेका छन् ।
प्राप्त विवरणअनुसार लक्ष्मी सनराइज बैंकमा रहेको संघको खाताबाट २०८१ मंसिर २१ गते सेवाग्राही राहुल कुमार झाको नाममा सात लाख पाँच हजार रुपैयाँको चेक जारी गरिएको थियो । संघको विधानअनुसार यस्ता संस्थागत चेकमा दुई पदाधिकारी–अध्यक्ष वा महासचिवमध्ये एक र कोषाध्यक्ष–को संयुक्त हस्ताक्षर अनिवार्य हुने व्यवस्था छ । तर उक्त चेकमा महासचिव झाले आफैँले दुवै हस्ताक्षर गरेको देखिएको छ ।
उक्त चेक बाउन्स भएपछि अनियमितताको विषय बाहिर आएको हो । यसलाई संस्थागत प्रक्रिया मिचिएको गम्भीर प्रकरणका रूपमा हेरिएको छ । यसअघि पनि २०८० भाद्र ५ गते हरि किशोर चौरासियाको नाममा जारी गरिएको एक लाख ४४ हजार रुपैयाँबराबरको चेक बाउन्स भएको थियो । सो घटनापछि सेवाग्राहीको उजुरीका आधारमा सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाइएको छ ।
लगातार चेक बाउन्स र वित्तीय अनियमितताको विवरणका आधारमा कर्जा सूचना केन्द्र लिमिटेडले मिति २०८३ साल वैशाख ११ गते नेपाल औषधि व्यवसायी संघ, मधेश प्रदेशलाई औपचारिक रूपमा कालोसूचीमा समावेश गरेको हो ।
संस्थाको केन्द्रीय खाताबाट देशभरका शाखा तथा प्रादेशिक समितिहरूले एउटै प्यान नम्बरमार्फत कारोबार गर्दै आएको अवस्थामा मधेश प्रदेश एकाइ कालोसूचीमा परेपछि यसको प्रभाव संघका अन्य संरचनामा समेत पर्न सक्ने देखिएको छ ।
देशभरका औषधि व्यवसायीहरूको हकहित संरक्षणका लागि स्थापित संस्थाले नै आन्तरिक अनुशासन र आर्थिक पारदर्शितामा कमजोरी देखाए पछि यसको संस्थागत विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ । यस विषयमा संघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवालसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।