काठमाडौं महानगरपालिका–११, माईतिघर मण्डलाको विस्तारित सडक खण्डमा घाइते जेन्जि समूहले २४ घण्टे धर्ना सुरु गरेको छ। वैशाख १० गतेदेखि सुरु भएको धर्ना आज छैटौं दिनमा पुगेको हो। घाइते जेन्जि दिपक श्रेष्ठसहित चार जनाको उपस्थितिमा जारी धर्नामा गृहमन्त्रीको राजीनामा फिर्ता हुनुपर्ने माग गरिएको छ। प्रदर्शनकारीहरूले ब्यानरमार्फत ‘मिडिया ट्रायल’ अन्त्य गर्न, आरोपभन्दा प्रमाणका आधारमा न्याय हुनुपर्ने, र काम गर्न दिने वातावरण बनाउनुपर्ने जस्ता सन्देश दिएका छन्। धर्नास्थलमा राखिएका ब्यानरहरूमा न्यायालयको भूमिकामाथि जोड दिँदै मिडियाले फैसला गर्न नहुने, प्रमाणबिना दोषी ठहर गर्नु अन्याय भएको, तथा प्रणाली सुधारका नाममा व्यक्तिलाई निशाना बनाउने प्रवृत्ति रोक्नुपर्ने उल्लेख गरिएको छ। उनीहरूले सत्यलाई समय दिनुपर्ने र हल्लाको भरमा निर्णय नगर्न आग्रह गर्दै राजनीतिक आरोपप्रत्यारोपभन्दा कामको मूल्याङ्कन हुनुपर्ने धारणा राखेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको छ।