काठमाडौं । पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने उद्योगी व्यवसायीहरूले बताएका छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीबीच भएको छलफलमा सहभागीहरूले पुर्वाधार विकास नभई आर्थिक प्रगति नहुने बताएका हुन् ।
कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताए । उनले सडक, ऊर्जा, जलस्रोत, सहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्न सरकारलाई आग्रह गरे । साथै, निर्माण क्षेत्रमा कार्यरत व्यवसायीहरूलाई समयमै भुक्तानी नहुँदा परियोजनाहरू प्रभावित हुने गरेको बताए । उनले भने, ‘जसरी सरकारले १५ दिनभित्र कर्मचारीलाई तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ त्यसैगरी पूर्वाधार क्षेत्रको विकासमा योगदान दिने निर्माण व्यवसायीहरूलाई पनि समयमै भुक्तानी दिइनु पर्दछ ।’ त्यस्तै नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढे आर्थिक विकासको लक्ष्य हासिल गर्न अझ सहज हुने बताए । त्यसको लागी निजी क्षेत्रका समस्याहरू सुनेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले विकासशील राष्ट्रका लागि पूर्वाधार नै आर्थिक प्रगतिको मेरुदण्ड भएको बताए । नेपालको वर्तमान सन्दर्भमा निर्माण क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । हाल निजी क्षेत्रप्रति सरकारी व्यवहार अपेक्षाअनुसार सहयोगी नभएको भन्दै उनले व्यवसायीहरूमा निराशा बढिरहेको बताए । निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या ढिला भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया, लागत वृद्धिका चुनौतीहरू समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।