नयाँ दिल्ली । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ । उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन् ।
यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १ः०८ बजे धावनमार्गमा थियो । विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए । आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ । विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो। विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए ।