राणा र राजाको समयपछि अहिलेसम्मकै सबैभन्दा धनी भनेर चिनिएको सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरूको एक प्रकारले अकूत नै भने हुने सम्पत्तिको स्रोतको खोजी भइरहेको छ । त्यसमा खासगरी यस्ता विषयमा अनुसन्धान गर्ने गृह मन्त्रालयका प्रमुख अर्थात् गृहमन्त्री नै कुख्यात अपचलनकर्ताहरूमध्येमा रहेछन् भन्ने उनले आफ्नो सम्पत्ति विवरण देखाएको हप्तै दिनमा खुल्यो ।
त्यसमाथि उनले देखाएका भन्दा बढी सम्पत्ति प्रकट हुन थालेपछि उनी गृहमन्त्री भएको २६औँ दिन र सम्पत्तिको विवादित विवरण सार्वजनिक भएको नवौँ दिन आफ्नै सम्पत्तिको वैधता पुष्टि गर्न नसक्दा राजीनामा दिन बाध्य भए ।
अहिले जस–जसका सुनदेखि नगद र जग्गा–जमिनमा धनी देखिएका छन् ती मन्त्रीहरू आफ्नो सम्पत्ति लुकाउने धुनमा लागको देखिएको छ । तर तिनका पोल भने क्रमशः खुल्न थालेका छन् ।
धन लुकाउने र देखाउने अभ्यास
यतिबेला आम तहमा के शंका गर्न थालिएको छ भने त्यसै पनि अकूत मानिएका मन्त्रीहरूले देखाएका भन्दा बढी सम्पत्ति हुनुपर्छ । त्यसको उदाहरण राजीनामा दिन बाध्य भएका गृहमन्त्री पनि हुन् । उनले आफूले देखाएको भन्दा दुई–तीन करोड नै लुकाइएको पाइयो । त्यसका प्रमाणसहितका कागजपत्र सार्वजनिक भएपछि जवाफहीन भएर राजीनामा रोज्न पुगे । नत्र यता अखबारमा समाचार आइरहने र उनी भने भ्रष्टाचारीहरूको भय बोलेको भन्दै तिनलाई नछाड्ने भन्दै सामाजिक सञ्जालमा धम्की दिइरहेका थिए तर जब उनले सर्वसाधारण नागरिकका सम्पत्तिमा हात मारिहेका कुरा प्रकट भयो अनि उनी खुम्चिएका हुन् ।
प्रधानमन्त्रीदेखि जस–जसका अकूत सम्पत्ति देखिएका छन् र तिनका स्रोत पनि शंकास्पद छन्, तर आफ्नो यस्तो सम्पत्तिको मुख्य स्रोत भनेर सबैले पैतृक भनेका छन् । अधिकांश अचल सम्पत्ति र सुनचाँदीको स्रोतमा पैतृक वा पारिवारिक उल्लेख हुनुले सम्पत्तिको वास्तविक वैधतामाथि प्रश्न उठाउने ठाउँ दिन्छ जो यतिधेरै महंगा धातु खरिदकर्ता तिनका पिता पुर्खाहरूको पनि आम्दानी कर तिरेर अर्थात् वैध रूपमा जम्मा भएको हो त ? भन्ने प्रश्न उठ्छ । सुरुमा गृहमन्त्रीको दाबी पनि यस्तै रहने गथ्र्यो । तर त्यो हप्ता दिनभित्रै झुटो साबित भयो ।
प्रधानमन्त्री मन्त्रीले जुन बेला आफ्नो सम्पत्ति सार्वजनिक गरे त्यसै बेलादेखि तिनका यी सम्पत्तिको स्रोतका बारे आम नागरिकमा प्रश्न उठ्दै नै आएका छन् । यी विवरण सार्वजनिक भएको दुई हप्ता नपुग्दै कतिपय मन्त्री आफ्ना धन लुकाउने धुनमा लागेको विवरण सार्वजनिक भए, जसमा उनले देखाएका विवरण वास्तवमा धन लुकाउने क्रमका रहेछन् कि भन्नेतर्फ शंका बढ्न थालेको छ ।
यसमध्येका एक पात्र, मन्त्रिपरिषद्का सदस्यको मर्यादाक्रममा पहिले नै तेस्रो ठाउँमा राखिएका गृहमन्त्री आफैँ उदाहरण भए, जो पुर्ख्यौली भन्दै प्राय सबै सम्पत्ति स्वतः वैध बनाउन अर्थात् मनी लाउडरिङ गर्न खोजेका देखियो । उनले आफैँले देखाएका सम्पत्तिमा निश्पक्ष छानबिन हुँदा कुनै पनि प्रकारले अवैध नहोस् भन्ने कामना गरौँ तर यस्ता कतिपय प्रमाणयुक्त विवरणले अरुकुरा नै बताइरहेका छन् । कतिसम्म भने उनी आफैँले दिनैपिच्छे सामाजिक सञ्जालमा हाल्ने गरेका लामा–लामा प्रस्टीकरणले पनि प्रस्ट पार्न सकेका देखिएन । बरु उल्टो आरोपहरू थपिँदै गएका अवस्था छ ।
गुरूङको सम्पत्ति कति ?
पूर्वगृहमन्त्री सुधन गुरूङले आफ्नो सम्पत्ति विवरणमा बताएअनुसार धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा । बुबा दिलबहादुर गुरूङको नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरुङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा । ८९ तोला सुन र ६ किलो चाँदी ।
लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ । होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँबराबरको ३० हजार कित्ता सेयर । लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर । धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर । एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर । सेयर व्यवसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको । लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार गत असोज १६ गते ४७ लाख ९९ हजार रूपैयाँमा किनेको ।
थप प्रश्न जन्माएका स्पष्टीकरण
यो विवरणमा नखुलाइको सम्पत्ति देखिएपछि लुकाइएको त्यो सम्पत्तिको वैधतामाथि सार्वजनिक रूपमा नै प्रश्न उठ्यो । त्यसपछि गृहमन्त्री गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत लामो स्पस्टीकरण दिएका थिए । त्यसले पहिले नै उठिरहेका प्रश्नहरूमा अरु थप्ने काम गर्यो । प्रस्टीकरणमा उनले दावी गरेका कुराले विवाद थप्यो । सम्पत्ति विवरणमा लुकाएका कुरा उनले यो प्रस्टीकरणमा खुलाएका छन् । अवस्था कतिसम्म भने, यसैले उनलाई गृहमन्त्रीबाट लघार्यो । गृहमन्त्रीमै रहेका बेला उनले दिएका त्यो प्रस्टीकरण र त्यसको दुई दिनपछि राजीनामा पत्रका सन्दर्भमा दिएको अर्को प्रस्टीकरण :
प्रस्टीकरण एक– सोमबार वैशाख ७
मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण : पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन् । विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु । स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ ।
‘२५ लाखको सेयर लुकाइएको’ भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो ।
सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन ।
‘मन्त्री हुनुअघि सेयर किनियो’ भनिएको छ । यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको छ ।
बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ । यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?
अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ ।
उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।
अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो ।
‘विवादित व्यक्तिसँग साझेदारी’ भनिएको छ । एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन् । सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन । यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन । त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन् । के ती सबै साझेदार वा दोषी हुन् त ?
प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु ?
‘कन्फ्लिट अफ इन्ट्रेस्ट’ या ‘इन्ट्रेस्ट’को आरोप पनि उठाइएको छ । तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभाग हो र सोही निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको छ ।
यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन ।
यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन ।
‘पृष्ठभूमि नजाँची लगानी’ भन्ने कुरा पनि उठाइएको छ । व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन । हरेक लगानीमा जोखिम हुन्छ ।
पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो ।
‘प्रतिक्रिया नदिनु’लाई पनि प्रश्न बनाइएको छ । कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन ।
हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ ।
‘पार्टीको नारा र व्यवहार फरक भयो’ भन्ने टिप्पणी पनि गरिएको छ । व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन । लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन ।
अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन् ।
निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ ।
तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।
सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन । धन्यवाद ।
प्रस्टीकरण दुई, बुधबार ९ वैशाख :
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु । पछिल्ला दिनहरूमा नागरिकस्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु ।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु ।
अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदी हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ । कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट सेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।
चार अर्बको अवैध कारोबार
यी पूर्वगृहमन्त्रीका बारे संयोग कस्तो देखियो भने जुनदिन उनले राजीनामा दिए त्यसै दिन उनको साझेदारी रहेको भनिएको कम्पनीको कारोबारका बारे एउटा सरकारी निकाय धितोपत्र बोर्डको अध्ययन रिपोर्ट बाहिर आयो, जसले उनका साझेदार दीपक भट्ट र उनको समूहले बीमा कम्पनीहरूको करिब चार अर्बको फन्ड दुरुपयोग गरी सेयर बजारमा चलखेल गरेको भन्ने उल्लेख भएको छ । यद्यपि यो रिपोर्टमा गृहमन्त्री गुरुङको नाम भने लेखिएको छैन ।
हालै थप छानबिनका लागि भनेर बोर्डले भट्ट र अन्य व्यक्तिहरूलाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार जालसाजीयुक्त कारोबार गरेको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस भने गरेको छ । यही ‘अन्य व्यक्तिहरू’ भित्र गृहमन्त्री गुरुङको पनि संलग्नता देखिने धेरैको बुझाइ छ । बरु गृहमन्त्री मातहतकै प्रहरीले उनीसमेत रहेको विषयमा कसरी छानबिन गर्ला भन्ने थप प्रश्न भने खडा भएको छ ।
बोर्डको सुपरीवेक्षण विभागले गरेको अनुसन्धानले भट्ट तथा उनको समूहले सेयर बजारमा चलखेल गर्न विभिन्न बीमा कम्पनीहरूको करिब चार अर्बको फन्ड दुरुपयोग गरेको निष्कर्ष निकाले निकालेपछि गृहमन्त्री गुरुङले लुकाउन खोजेको सम्पत्ति झनै शंकास्पद रूपमा प्रकट भएको हो ।
बीमा कम्पनीहरू पब्लिक लिमिटेड हुन्, जहाँ सर्वसाधारणको समेत ठूलो लगानी हुन्छ । साथै, ती कम्पनीले बीमाको प्रिमियमबापत सर्वसाधारणबाट रकम संकलन गर्छन् । यसको अर्थ हो, यो समूहले यो रूपमा सर्वसधारणको यति ठूलो रकम यताउता पारेको छ जसमा गृहमन्त्रीको साझेदारी रहेको आरोप खट्न सक्तछ ।
उक्त छानबिनले यो कार्यमा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड आदि छन । यसमध्यको एउटामा गृहमन्त्रीको साझेदारी सेयर रहेको भनी यसअघि नै सञ्चार माध्यममा विवरणहरू प्रकाशन भइसकेका थिए र भइरहेका पनि छन् ।