काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा नौवटा वाणिज्य बैंकको स्थलगत निरीक्षण गरेको छ । सोमबार ७० वर्ष पूरा गरी ७१औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्बोधन गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले उक्त जानकारी दिएका हुन् ।
गभर्नर डा. पौडेलका अनुसार चालू आवको वार्षिक निरीक्षण कार्ययोजनाअनुसार २०८२ फागुन मसान्तसम्ममा नौवटा वाणिज्य बैंकहरूको समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरिएको हो । त्यसैगरी यो अवधिमा विदेशी परामर्शदाता कम्पनीबाट १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्यु गर्नै कार्य सम्पन्न भई प्रतिवेदन प्राप्त भएको भएको पनि उनले बताए । वाणिज्य बैंकहरूको सेवा प्रवाहलगायतका विषयमा विभिन्न निकाय र सेवाग्राहीबाट चालू आर्थिक वर्षको २०८२ फागुन मसान्तसम्म प्राप्त एक सय ५५ निवेदन र उजुरीका सम्बन्धमा आवश्यकताअनुसार गैरस्थलगत विशेष निरीक्षण र चार पटक स्थलगत विशेष निरीक्षणसमेत गरी एक सय ३४ वटा उजुरीका सम्बन्धमा आवश्यक निर्देशन दिइएको गभर्नर पौडेलको भनाइ छ ।
गभर्नर पौडेलका अनुसार २०८२ वैशाखदेखि फागुन मसान्तसम्ममा राष्ट्रियस्तरका पाँचवटा विकास बैंकमा जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरिएको छ । यसैगरी चार विकास बैंक र सातवटा वित्त कम्पनीमा अनुपालनामा आधारित स्थलगत निरीक्षणसहित कुल १६ वटा संस्थाको समष्टिगत स्थलगत निरीक्षणको कार्य सम्पन्न गरिएको छ । साथै, छवटा विकास बैंक र सातवटा वित्त कम्पनी गरी कुल १३ वटा संस्थाको लक्षित स्थलगत निरीक्षण सम्पन्न गरिएको पनि उनले जानकारी दिए ।
चालू आवको पछिल्लो आठ महिनामा नेपाल राष्ट्र बैंक ऐन–२०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ र राष्ट्र बैंकले जारी गरेका निर्देशनहरू उल्लङ्घन गर्ने दुई विकास बैंक र दुई वित्त कम्पनी गरी चारवटा संस्थाका सञ्चालक समिति, अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने, नसिहत दिने, आर्थिक जरिबाना लगाउनेलगायतका नौवटा कारबाही गरिएको जानकारी पनि गभर्नर पौडेलले दिए ।
यसैगरी, राष्ट्र बैंकबाट जारी गरिएका नीतिगत व्यवस्था र निर्देशनको उल्लङ्घन गर्ने पाँच वाणिज्य बैंकलाई जरिबाना तथा कारबाही गरिएको र बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम एउटा विकास बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरिएको उनको भनाइ छ ।
३८ लघुवित्तमा अनुगमन
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको फागुनसम्म ३८ वटा लघुवित्त संस्थाको समष्टिगत स्थलगत निरीक्षण गरेको जनाएको छ । यसअवधिमा एक संस्थाको विशेष निरीक्षण कार्य सम्पन्न गरिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरी राष्ट्र बैंकले २०८२ चैत मसान्तसम्ममा भुक्तानीसम्बन्धी कार्य गर्ने २४ वटा (बैंक तथा वित्तीय संस्थाबाहेक) संस्थाको अनुमतिपत्र नवीकरण गरिएको जनाएको छ । यस अवधिमा एउटा भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
वार्षिक उत्सवमा निजी सञ्चार माध्यमलाई बन्देज
नेपाल राष्ट्र बैंकले यस पटकको वार्षिक उत्सव कार्यक्रममा निजी सञ्चार माध्यमहरूलाई पूर्ण रूपमा बन्देज लगाएको छ । विगतका वर्षहरूमा सबै सञ्चार माध्यमहरुलाई आमन्त्रित गरेर निकै तामझामका साथ वार्षिक उत्सव मनाउने गरेको राष्ट्र बैंकले यस पटक भने गभर्नर डा. विश्वनाथ पौडेलको ठाडो निर्देशनको आधारमा वार्षिक उत्सव कार्यक्रममा निजी सञ्चार माध्यमलाई बन्देज लगाएको स्रोतको भनाइ छ ।
‘विगतमा कहिले पनि राष्ट्र बैंकको कार्यक्रममा निजी सञ्चार माध्यमलाई बन्देज गरेको गरिएको थिएन, खै यसपालि गभर्नरले किन यस्तो गरे, थाहा भएन’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसो नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवाको जोडबलमा गभर्नर बनेका डा. पौडेलले सरकारले निजी सञ्चार माध्यममा सरकारी टेन्डरको विज्ञापनलाई बन्देज लगाएसँगै सरकारको प्यारो हुन र सम्बन्ध बलियो बनाउन निजी सञ्चार माध्यमलाई कार्यक्रममा प्रवेश नदिन लागिएको हो ।’
यदि खर्च कटौती अर्थात् मितव्ययिताको लागि नै यसो गरिएको थियो भने महिनौँ दिन विश्व दौडामा निस्कने गभर्नरले मितव्ययिताकै लागि कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेश नदिनु हाँस्यास्पद रहेको स्रोतले बतायो ।