काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेडको सेयर निष्कासनसम्बन्धी बुक–बिल्डिङ प्रक्रियाअन्तर्गत छलफल ‘रोड सो’ सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलद्वारा आयोजना गरिएको ‘रोड सो’मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता थियो ।
‘रोड सो’ कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्यांकनसम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुति तथा छलफलमार्फत नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्य सम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी प्रदान गरेका थिए । उक्त अन्तरक्रियाले संस्थागत लगानीकर्ताहरुमा अस्पतालको दिगो विकास र सेवासम्बन्धी सम्भावनाबारे स्पष्ट बुझाइदिन सफल भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले ‘रोड सो’ कार्यक्रममा मूल्यांकन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक–बिल्डिङ संरचना तथा नियामक प्रावधानसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेको थियो । सहभागी लगानीकर्ताहरूले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वासयोग्य रहेको धारणा व्यक्त गरेका थिए । यस कार्यक्रमको सफल सम्पन्नताले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रक्रियालाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ । यसले पारदर्शी, बजार–आधारित मूल्य खोजी प्रक्रिया र सूचित संस्थागत सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
बुक–बिल्डिङ प्रक्रियाको आगामी चरण ‘रोड सो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा, योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य सिलबन्द खाममा पाँच कार्यदिनभित्र अर्थात् विसं २०८३ साल वैशाख २१ गते ५ बजेभित्र आवश्यक कागजातसहित आशय पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।