काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले अटोमोबाइल स्पेयर पार्टसहरूमा अधिकतम मूल्य सूचि (एमआरपी) सहितको स्टिकर टाँस्ने व्यवस्था लागू गर्न नसकिने जनाएको छ ।
नाडाको एक प्रतिनिधि मण्डलले सोमबार भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई भेटी एमआरपी लागू गर्न नसकिने जानकारी गराएको हो । नाडाले चारपांगे्र तथा दुईपांगे्र सवारीसाधनहरूको लागि कुनै समस्या नभए पनि एउटै बक्सभित्र सयौँको संख्यामा आउने अटोमोबाइल स्पेयर पाट्र्सहरूको हकमा भने एमआरपी लागू गर्न समस्या रहेको जनाएको छ । त्यसैगरी भन्सारमा वन्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्य सूचीसहितको स्टिकर टाँस्नुपर्ने व्यवस्था व्यावहारिक नभएको नाडाको भनाइ छ ।
विभागका महानिर्देशक भण्डारीले सबै किसिमका अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्य सूचीसहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको स्वीकार गरे । विभागले व्यापारमा सहजीकरण र राजस्व वृद्धिमा ध्यान दिँदै आएको उनको भनाइ छ । नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहेका सवारीसाधनहरू तोकिएको समयसीमाभित्र जाँच पासगरी लैजान सूचना जारी गरेको सम्बन्धमा जिज्ञासा राखेका थिए । जवाफमा महानिर्देशक भण्डारीले सो सूचना कानुनमा भएको व्यवस्थाअनुसार जारी गरिएको हुनाले नाडाका सम्बन्धित सवारीसाधन पैठारीकर्ताहरूलाई तोकिएकै समयमा ती सवारीसाधनहरूको भन्सार जाँच पास गरी सहजीकण गरी दिन आग्रह गरे ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत ३० गते विदेशबाट पैठारी गरी नेपालमा बिक्रीवितरण गरिने सम्पूर्ण वस्तुहरूको अनिवार्यरुपमा एमआरपी उल्लेख गर्नुपर्ने सूचना जारी गरेको थियो । साथै वस्तु बिक्री गर्दा अनिवार्य रुपमा बिल बिजक जारी गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । छलफलमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठक समेतको उपस्थिति थियो ।