जानकी (बाँके) । नागरिक उड्डयन प्राधिकरणद्वारा यात्रुहरूका लागि आजदेखि नेपालगन्ज विमानस्थलमा निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ ।
यात्रुहरुलाई आवतजावत सहज बनाउने उद्देश्यले विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधार भइरहेका छन् ।
निःशुल्क ट्रलीबस सेवाले विशेष राहत मिलेको उक्त सेवा लिएकी यात्री सरिता शर्माले बताइन् । “म आज काठमाडौँबाट नेपालगन्ज आएकी हुँ । यहाँ झर्दा अटोले लिने चर्को शुल्क र अटोवालासँग ‘बार्गेनिङ’ गर्दा खेप्नुपर्ने गर्मी यी दुवैबाट छुटकारा पाएको अनुभूति भएको छ”, उनले भनिन ।
यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको नेपालगन्ज विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले बताए । उनले भने, “करिब २५ सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो ।”