बागमती । पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यस निकुञ्जलाई नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको छ । पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् ।
प्राकृतिक सुन्दरतासँगै पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई गत २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरेको थियो । स्वदेशी तथा विदेशी पर्यटकको लागि पर्सासहित बारा र मकवानपुर जिल्लासँग जोडिएको सो निकुञ्ज खुल्ला गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा ४१३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकहरुमा सार्क मुलुकका १४ जना र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताए ।
“खासगरी कात्तिकदेखि चैत महिनासम्म बढी पर्यटक आउँछन्, वर्षा मौसम सुरु भएपछि निकुञ्ज बन्द हुन्छ । वैशाखदेखि असोज महिनासम्म पर्यटक खासै आउँदैन्”, उनले भने ।
निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दहहरु पर्यटकको प्रमुख आकर्षणको केन्द बनेको हो ।
निकुञ्जको पछिल्लो गणनाअनुसार निकुञ्जमा पाटेबाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जभित्र पानीको सहजका लागि ठाउँठाउँमा कृतिम पोखरी निर्माण गरेसँगै ती पोखरीहरुमा ट्याङ्करबाट पानी हालेपछि पाटेबाघसहितका वनजन्तुहरुको सङ्ख्यामासमेत वृद्धि भएको छ ।
निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले पानीको मुख्य समस्याका कारण निकुञ्जले प्राकृतिक रुपमा कृतिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको बताए । कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान छ ।
निकुञ्जको जङ्गलभित्र निकुञ्ज घुम्न आउने पर्यटकहरूको अवलोकन र घुमफिरका लागि एक दर्जन ‘भ्यु टावर’ समेत बनाइएको छ । निकुञ्जभित्र ‘फायर–लाइन’ पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्नसक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख खतिवडाको भनाइ छ ।
निकुञ्जलाई मधेस प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको खतिवडाले जनाएका छन् ।