काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदको लागि दरखास्त आह्वान गरिएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि गठन गरिएको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिहरूसँग दरखास्त आह्वान गरेको हो ।
समितिले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेस गर्न आग्रह गरेको छ । समितिका अनुसार इच्छुक उम्मेदवारहरूले वैशाख २१ गतेभित्र अर्थ मन्त्रालयअन्तर्गतको सम्बन्धित महाशाखामा रहेको समितिको सचिवालयमा आवेदन दिनुपर्नेछ । बोर्डको अध्यक्ष पद गत वैशाख ४ गतेदेखि खाली रहेको छ । तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको हो । उनलाई २०८१ मंसिर १० गते सरकारले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।