काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले व्यवसायीहरूमाथि हुने धरपकडले सरकारको लगानीमैत्री नेपालको नारालाई कमजोर बनाउने जनाएको छ ।
नाडाले मंगलबार विज्ञप्ति जारी गरी व्यवसायीहरुलाई अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात पक्राउ गर्ने वा थुनामा राख्ने कार्य नगर्न आग्रह गरेको छ । नेपाल उद्योगा वाणिज्य महासंघ एवं नाडाका समेत पूर्वअध्यक्ष शेखर गोल्छाको पक्राउले निजी क्षेत्रमा नकरात्मक असर गरेको नाडाले जनाएको छ । राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैँ सहयोग गर्दै आएको उल्लेख गरेको छ । यद्यपि अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वासलाई खलल पुग्ने नाडाको भनाइ छ । ‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउन पर्ने समयमा प्रतिष्ठित व्यवसायीहरूमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना गर्नेछ । यसले सरकारले अघि सारेको लगानीमैत्री नेपालको नारालाई समेत कमजोर बनाउने देखिन्छ’, नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गोल्छाले समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्याएको नाडाको भनाइ छ । ‘यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहनुभएको व्यक्तित्व माथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने हाम्रो ठम्याइ छ’, नाडाले भनेको छ । नाडाले गोल्छाको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ आग्रह गरेको छ । ‘दोषी प्रमाणित नभएसम्म उहाँजस्तो प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यावसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व हो । अनुसन्धानमा उहाँले पूर्ण सहयोग गर्नेमा समेत हामी विश्वस्त छौँ’, विज्ञप्तिमा भनिएको छ ।
निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न पनि नाडाले माग गरेको छ ।