सुकुम्बासीको देशव्यापी लगत संकलनबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विभिन्न चासो र चर्चाहरू भइरहेका बेला नेपाली सेनाले यसबारे २ बुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूलाई समेत मध्यनजर गर्दै नजिकिँदै आएका सम्भावित बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले पूर्वतयारीको योजना गर्दै आएको स्पष्ट गरिएको छ।
विज्ञप्तिमा सेनाका स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा सम्भावित विपद्को अवस्थामा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्यलाई सहज बनाउनका लागि जोखिम नक्साङ्कन र तथ्याङ्क अद्यावधिक गरिएको उल्लेख गरिएको छ।सेनाले उक्त कार्य कुनै विवादित उद्देश्यका लागि नभई विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको नियमित तयारी भएको स्पष्ट पारेको छ। यससँगै सामाजिक सञ्जालमा फैलिएका विभिन्न हल्ला र गलत बुझाइप्रति सचेत रहन पनि सेनाले आग्रह गरेको छ।