काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले बुधबारबाट दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभाविबत क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ । सो प्रक्रिया सम्पन्न भएपछि बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्नो ७० करोड रुपैयाँ जारी पुँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता साधारण सेयरमध्ये सात लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई वितरण भइसकेको छ । यसैगरी दुई लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि, एक लाख पाँच हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । यी सबै वर्गलाई छुट्याइएपछि बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार साधारण सेयरको बिक्री कार्य छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बन्द हुने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।