काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीले म्यानपावरलाई बुझाउने सेवाशुल्क बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले एक सूचना निकाल्दै कामका लागि विदेश जानेहरूलाई बैंकिङ प्रणालीबाट मात्रै भुक्तानीका लागि अनुरोध गरेको हो ।
‘वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपाली नागरिकले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी)लाई प्रचलित कानुनबमोजिम बुझाउनुपर्ने सेवा शुल्कबापतको रकम अनिवार्य रूपमा बैंकिङ माध्यमबाट प्रयोजन खुलाई बुझाउनुहुन अनुरोध छ’, सूचनामा भनिएको छ ।
उक्त रकम बुझाएको प्रमाण, कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित राख्न पनि अनुरोध गरिएको छ । नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पु¥याउन कठिन हुने भएकाले कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासाग आबद्ध कर्मचारी/प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारीमा जान वा वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्न नगराउन विभागले भनेको छ ।
म्यानपावरहरूलाई पनि नगदमा कारोबार नगर्न नगराउन सचेत गराइएको छ । त्यसो नगरे कानुनअनुसार कारबाही हुने विभागको चेतावनी छ ।