काठमाडौं । हिमालयन बैंकको तत्कालीन समयमा कायम रहेको पाकिस्तानको हविव बैंकको सेयर बिक्रीमा विशेष भूमिका निर्वाह गरेका नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिश श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।
श्रेष्ठले तत्कालीन समयमा हविव बैंकको सेयर बिक्री प्रक्रियामा हिमालयन बैंकका तत्कालीन अध्यक्ष मनोज बहादुर श्रेष्ठ र हालका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको पक्षमा रहेर सक्रिय भूमिका निर्वाह गरेको स्रोतको भनाइ छ । श्रेष्ठलाई सीआईबीले भने बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा मंगलबार पक्राउ गरेको हो । उनी नाताले प्रचण्ड बहादुर र मनोज बहादुर श्रेष्ठका ज्वाइँ हुन ।
उनी एकताका नेपालमा सुनको मूल्य निर्धारण गर्ने सुन साहु गोविन्दलाल श्रेष्ठका नाति हुन् । उनीपछि मात्र नेपाल राष्ट्र बैंकले सुनको मूल्य निर्धारण गर्न लागेको हो । काठमाडौंको मख्खनका प्रख्यात सुन साहु गोविन्दलालका छोरा जितेन्द्रलाल पनि सुन व्यापारी नै हुन् । उनी प्रख्यात व्यवसायी पीयुस बहादुर अमात्यका ज्वाइँ हुन् । विसं २०४५ सालमा सरकारले पासपोर्ट सिज गरेका ९५ जना व्यापारीहरूमध्येका एक जितेन्द्रलालको सुनको धन्दा खुमबहादुर खड्का र वामदेव गौतम गृहमन्त्री भएको बेला निकै मौलाएको थियो । तर सुनको धन्दा सँगसँगै जितेन्द्रलाल चट्याङगका ढुंगा नासालाई बेच्ने धन्दामा लागेपछि पतनको बाटोमा लागे । उनीसँगै उनको ससुराली अमात्य परिवार पनि आर्थिक संकटमा पर्न थाल्यो ।
अमात्यले पोखरामा सञ्चालन गरेको फुलबारी रिसोर्ट बन्द भयो । बीणा चेम्बरमा सन्नाटा छाउन थाल्यो । जीतेन्द्रलालले सुनको धन्धा गर्दा उनको श्रीमतीलाई फुर्ने कविता पनि फुर्न छाड्यो । अहिले ती दुवै परिवार आर्थिक रूपमा बदनाम छन् र सामाजिकरूपमा अलपत्र । उनीहरूका परिवारका सदस्यहरूको नाममा बैकहरूले ऋण तिर्न आउन सूचना जारी गरिरहेका हुन्छन् र तीमध्येका कतिपयलाई त छोराछोरी विदेशमा भेट्न जान पनि रोक लगाइएको छ ।
त्यस्तो पारिवारिक दुर्दशा व्यहोरिरहेको भए पनि हिमालयन बैंकको अध्यक्ष र पूर्वअध्यक्ष अर्थात् ससुराली खलकको आडमा कुख्यात भस्मासुर बिचौलिया दीपक भट्टका लागि काम गरेर छिटो धनी हुने योजनामा निकै फुर्ती गर्दै हिँड्ने गरेका आशिष श्रेष्ठ अन्ततः पक्राउ परेका छन् । उनी पक्राउ परेपछि उनले भट्ट र प्रचण्ड बहादुर श्रेष्ठसँग गरेको भित्री कारोबार खोतलिने हो भने मुलुकमा भइरहेको एउटा ठूलो आर्थिक अपराध छताछुल्ल हुने देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले यही वैशाख ८ गते पठाएको आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा उनी श्रेष्ठविरुद्ध अनुसन्धान भइरहेको थियो । प्रतिवेदनमा कम्पनीको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिम कसुर गरेको उल्लेख गरिएको छ । सोही आधारमा थप अनुसन्धानका लागि सीआईबीले उनलाई पक्राउ गरेको जनाएको छ । प्रारम्भिक छानबिनमा उनको संलग्नता देखिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको सीआईबीको भनाइ छ ।
जिल्ला अदालत, बबरमहलबाट यही वैशाख १४ गते पक्राउ अनुमति लिएपछि प्रहरीले आशिष श्रेष्ठलाई काठमाडौं महानगरपालिकाअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ बाट मंगलबार पक्राउ गरेको गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान जारी रहेको सीआईबीेले जानकारी दिएको छ ।