काठमाडौं । सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये १३ वटाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा चार अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो ।
क्षेत्रीयस्तरको कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भई सुधारको क्रममा रहेकाले अहिलेसम्म तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक नभएको र क्षेत्रीयस्तरका नारायणी, सिन्धु र सालपा विकास बैंक खुद नोक्सानीले देखिनुले पनि चालू आवको तेस्रो त्रैमासमा विकास बैंकहरूले छ अर्ब रुपैयाँको हाराहारीमा नाफा कमाएको देखिएको हो ।
विवरणअनुसार चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले कमाएको छ । गरिमाले एक अर्ब चार करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा मुक्तिनाथले ९४ करोड २६ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ७३ करोड ३४ लाख ९१ हजार र ७२ करोड ४९ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । शाइन रेसुंगा, ज्योति र कामना सेवा विकास बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः ७८ करोड ८४ लाख चार हजार, ६२ करोड ९४ लाख ६२ हजार र ५८ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ५१ करोड ४० लाख १४ हजार, तीन करोड छ लाख ११ हजार र ४९ करोड ३१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । लुम्बिनी, सांग्रिला र महालक्ष्मी विकास बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः ५६ करोड १६ लाख ८३ हजार, ४८ करोड ४५ लाख ३१ हजार र ४५ करोड ९९ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः चार करोड ९७ लाख ८३ हजार, ४३ करोड ४२ लाख १८ हजार र ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
एक्सेल, मितेरी र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः १५ करोड १७ लाख १७ हजार, नौ करोड ६२ लाख १८ हजार र पाँच करोड ९० लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा एक्सेल र सप्तकोशीले क्रमशः ६३ लाख ८३ हजार र दुई करोड ७७ लाख ९७ हजार रुपैयाँ खुद नोक्सानी व्योहोरेका थिए भने मितेरीले नौ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । कर्पोेरेट र ग्रिन डेभलपमेन्ट बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः चार करोड ८२ लाख ६३ हजार र तीन करोड ५२ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक करोड ७७ लाख ८१ हजार र दुई करोड १२ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
चालू आवको तेस्रो त्रैमासिक अवधिमा नारायणी, सिन्धु र सालपा विकास बैंकले भने क्रमशः चार करोड ९७ लाख ८१ हजार, तीन करोड ३० लाख ७३ हजार र ३१ लाख ८९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन् । गत आवको सोही अवधिमा नारायणी र सालपाले क्रमशः एक करोड २६ लाख ७४ हजार र ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने सिन्धुले सात करोड ८४ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।