विराटनगर । खुला सीमाको तस्करी नियन्त्रण गर्न पूर्वी क्षेत्रका उद्योगीहरूले सरकारसँग आग्रह गरेका छन् । मोरङ उद्योग व्यापार संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले सरकारले खुल्ला सीमा क्षेत्रका अवैध कारोबार नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन् ।
संघका अध्यक्ष अनुपम राठीले आयात सहजीकरण गरिदिन पनि आग्रह गरे । ४८ वटा दैनिक उपभोग्य वस्तुहरूको भन्सार दर न्यून गर्नुपर्ने उनको माग छ । स्वदेशी उद्योग र बजारलाई प्रोत्साहन गर्न, बहुदरको मूअकर प्रणाली अवलम्बन गर्न उनले आग्रह गरे । यस्तै उनले अनावश्यक रूपमा व्यवसायीहरूलाई दुःख दिने काम नगर्न पनि आग्रह गरे । आर्थिक, फौजदारीलगायतका कसुरहरू छुट्याई थुन्ने र सुन्ने नीति छुट्याइनु पर्ने उनको भनाइ छ । साथै उनले विभिन्न मुलुकहरूसँग अन्तर्राष्ट्रिय व्यापारिक सम्झौताहरू बढाउनु पर्ने, श्रमिक सम्झौतासँगै व्यापारिक सम्झौता पनि लागू गर्नु पर्ने माग गरे । औद्योगिक नगरी विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल, पर्यटन र खेलकुदका पूर्वाधारहरू निर्माण गर्नुपर्ने उनको भनाइ छ । मोरङ–सुनसरी औद्योगिक कोरिडोरको बढ्दो मानव वस्तीलाई ध्यानमा राखी बेग्लै औद्योगिक कोरिडोर निर्माण गर्नुपर्नेलगायतका उनले सुझाव दिए ।
संघले निजी क्षेत्रका आवश्यकता, समस्या तथा सुझावहरू दिन मोरङबाट निर्वाचित सांसदहरूलाई राखेर छलफल गरेको थियो । छलफलमा सांसदहरू लिमा अधिकारी आचार्य, लालविक्रम थापा, यज्ञमणि न्यौपाने, सन्तोष राजवंशी, आशा झालगायत सहभागी थिए । अध्यक्ष राठीले उनीहरूलाई देशको आर्थिक विकास, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा औद्योगिक वातावरण सुधारका लागि निजी क्षेत्रका आवश्यकता, समस्याका सम्बन्धमा जानकारी गराए । वर्तमान सरकारलाई देशको आर्थिक विकास, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा औद्योगिक वातावरण सुधारका कार्यहरूमा सहयोग गर्न संघ तयार रहेको उनले बताए ।