काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुमबासी संघले सरकारविरुद्ध लाखौँ सुकुमबासी सडकमा उतार्ने चेतावनी दिएको छ । सरकारको गलत रबैयाले देशभरका ७० लाख सुकुमबासी घरबारविहीन हुने अवस्था सिर्जना भएको जनाएको छ ।
सरकारले सुकुमबासीका बस्तीमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका इन्चार्ज नहेन्द्र खड्काले सरकारले नेपाली सेनाको समेत दुरुपयोग गरी सुकुमबासीलाई हटाइएको बताए । काठमाडौं उपत्यकाका सुकुमबासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतङ्क फैलाएकोे उनको भनाइ छ । ‘नागरिकप्रति राज्यको अभिभावकीय भूमिका हुनुपर्नेमा देशभरका सुकुमबासीलाई घरबारविहीन बनाउने कदमले बालेन सरकार नाजीवादी–फासीवादी दिशातर्फ उन्मुख भएको छ’, उनले भने । सरकारले संविधानविपरीत कार्य मात्रै नगरेर अमानवीय हर्कत गरेको बताए । खड्काले देशभर रहेको ७० लाख सुकुमबासी तथा भूमिहीन सरकारविरुद्ध उत्रिन तयार रहेको बताए । ‘काडमाडौं उपत्यकामा सेना लगाएर डोजर त लगाए उपत्यकाबाहिर लाखौँ सुकुमबासीले महेन्द्र राजमार्गलाई नै ठप्प पारे कसको के चल्छ हेरम्ला’, उनले भने ।
संघले सुकुमबासीको पक्ष र सरकारविरुद्ध जनचेतनादेखि महेन्द्र राजमार्ग ठप्प पार्नेसम्मका संघर्षका कार्यतालिका समेत सार्वजनिक गरेको छ । वैशाख २० गतेसम्म पहिलो चरणमा सबै राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुकलाई भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको पक्षमा धारणा सार्वजनिक गर्न लगाउने जनाएको छ । दोस्रो चरणमा वैशाख २० देखि ३० गतेसम्म सबै जिल्ला, पालिका र बस्तीमा (सम्भव भए वडामा समेत) संघर्ष समितिहरू गठन गर्ने, प्रत्येक स्थानीय तह र वडा कार्यालय, भूमि समस्या समाधान आयोग, त्यसका जिल्ला समितिहरू, जिल्लास्थित समन्वय, प्रशासन, नापी, भूमि, डिभिजन वनलगायतका कार्यालयहरूमा उठिबास रोक्न र यथाशीघ्र लालपुर्जा प्रदान गर्न माग गर्दै ज्ञापन पत्र दिने, काठमाडौँ ठूला सहरहरूमा सुरु गरिएको र देशभर फैलाउन खोजिएको जबरजस्ती उठिबासको विरोध र यसलाई अविलम्ब रोक्न माग गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यालयहरूमा शान्तिपूर्ण तरिकाले विरोध पत्रहरू दर्ता गर्ने जनाएको छ ।
बैशाख ३१ गते तेस्रो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभ्यास गर्ने भनिएको राइट टु रिकलमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदीय दलको नेताबाट परिवर्तन गरी प्रधानमन्त्रीबाट हटाउन अनुरोधसहित काठमाडौंमा पत्रकार सम्मेलन गर्ने र जुलुससहित मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । चौथो चरणमा जेठ १ गतेबाट ७ गतेसम्म जनताको हितमा काम नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधलाई फिर्ता बोलाउन आह्वान गर्दै ‘राइट टु रिकल’का लागि देशव्यापी हस्ताक्षर संकलन गर्ने, जेठ ७ गतेबाट मेची–महाकाली राजमार्ग र सुकुमबासी केन्द्रित क्षेत्र केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने संघले जारी गरेको कार्यलातिकामा उल्लेख छ ।