काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगको सहकार्यमा शुक्रबार काठमाडौंमा साइबर सेक्युरिटी एण्ड इन्फर्मेशन सिस्टम अडिट (आईएस अडिट) सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
पुँजी बजारमा बढ्दो डिजिटल कारोबारसँगै साइबर सुरक्षा र प्रणाली अडिटको महत्वलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ब्रोकर्स सदस्य संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा आईटी प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा करिब एक सय ८० जनाको उपस्थिति रहेको जनाइएको छ । तालिमका प्रमुख प्रशिक्षकका रूपमा कुमार पुडासैनी रहेका थिए । साथै, नेप्सेको आईटी महाशाखा प्रमुख निशा तिमिल्सिनाले आईटी सिस्टम तथा टीएमएस (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम) सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुँडामणि चापागाईंले प्रविधिको तीव्र विकाससँगै पुँजी बजार अझ बढी डिजिटल र स्वचालित बन्दै गइरहेको उल्लेख गर्दै साइबर सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले लगानीकर्ताको विश्वास जोगाउन, डाटा सुरक्षा सुनिश्चित गर्न तथा नियामकीय अनुपालनका लागि नियमित आईएस अडिट र मजबुत आईटी प्रणाली अपरिहार्य रहेको उल्लेख गरे । त्यस्तै, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वर्तमान समयमा साइबर सुरक्षाको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै सम्पूर्ण सरोकारवालाहरूले सुरक्षासम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको समापन मन्तव्य लीलाधर सुवेदीले गरेका थिए । उनले यस्ता तालिम कार्यक्रमले बजार सहभागीहरूलाई साइबर जोखिम व्यवस्थापनमा थप सशक्त बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन कुलचन्द्र रिजालले गरेका थिए । कार्यक्रममा नेप्सेका महाशाखा प्रमुखहरू मुराहरी पराजुली, सागर ढुंगेल तथा आईटी शाखा प्रमुख प्रभाकर घिमिरेको समेत उपस्थिति रहेको थियो । नेप्सेले यस्ता क्षमता अभिवृद्धि कार्यक्रममार्फत पुँजी बजारलाई अझ सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।