काठमाडौं । दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो राइड’ यसवर्ष असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिने यस राइडमा सहभागी राइडरहरूलाई बगैंचामै पुगेर अर्गानिक आँपको स्वाद लिने र नेपाली बारीको आँप प्रबद्र्धन गरिने जनाइएको छ । क्लबका अनुसार ‘म्याङ्गो राइड’ले पर्यटकलाई ग्रामीण भेगसँग जोड्दै स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत टेवा पुर्याउनेछ । दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले देशका विभिन्न स्थानमा नयाँ–नयाँ रुटहरूको खोजी गर्दै भ्रमण गर्ने, त्यहाँको वस्तुस्थिति अवलोकन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कार्य गर्दै आएको जनाएको छ । सन् २०१५मा चार जनाबाट सुरु भएको यस क्लबले कोरोना महामारी र मधेस आन्दोलनको अवधिबाहेक हरेक वर्ष असारको पहिलो शुक्रबारदेखि नियमित रूपमा राइड आयोजना गर्दै आएको छ । क्लबका सदस्यहरू हालसम्म करिब ७० जिल्लामा पुगिसकेका छन् । गत वर्ष सम्पन्न आठौं ‘म्याङ्गो राइड’ को अवसरमा लहानस्थित मुसहर बस्तीका करिब २०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।