काठमाडौं । हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर)ले पर्याप्त दक्ष जनशक्ति भए पनि आईसीटी विकासमा नेपाल छिमेकी देशहरूभन्दा अलि पछाडि रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘टेक फर्वार्डः मिडिया डायलग २०२६’ कार्यक्रममा उनले नेपालले प्रविधि क्षेत्रमा उलेख्य विकास गर्न सक्ने बताए । उनले नेपालमा दूरसञ्चार क्षेत्रको दिगो र अर्गानिक वृद्धिलाई जोड दिन आग्रह गरे । कार्यक्रममा नेपालमा मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता, फाइभजी सञ्चालनको सम्भावना, चुनौती र आवश्यकताबारेमा पनि छलफल भएको थियो । फाइभजी सुरु गर्न फोरजीको पूर्वाधार विस्तार आवश्यक रहेको सहभागीहरुले बताए । नेपालजस्ता देशमा तुरुन्तै स्ट्यान्ड–अलोन फाइभजी पूर्वधार विकास गर्न लगानी, भौगोलिक जटिलताजस्ता कारणले कठीनाइ हुने औँल्याउँदै विज्ञहरूले नन–स्ट्यान्ड अलोन प्रविधि विकल्प हुने उल्लेख गरे । नन–स्ट्यान्ड अलोन भनेको फोरजीकै पूर्वाधारमा फाइभजीका उपकरण राखेर सेवा विस्तार गर्ने विकल्प हो । उनीहरुका अनुसार यसमा फाइभजी सेवा दिँदा छुट्टै नयाँ कोर नेटवर्क बनाइँदैन । बरु, अहिले भइरहेको फोरजी एलटीईको कोर नेटवर्क र पूर्वाधारलाई नै आधार मानिन्छ । यसले फाइभजीका लागि फोरजी विस्तार महत्वपूर्ण रहेको विज्ञहरूको भनाइ थियो ।
विश्वमा पहिलो चरणमै थ्रीजी भित्र्याउन सफल नेपाल फाइभजीमा भने सुस्त देखिएको सहभागीहरूले बताए । नियामक नेपाल दूरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक र सरकारको आपसी सामञ्जस्यता नहुँदा फाइभजीमा ढिलाइ भइरहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा एआई, डेटा सेन्टर, फाइभजी, नविकरणीय ऊर्जा, मोबाइल ब्रोडब्यान्डजस्ता विषयमा प्रस्तुतीकरण तथा संवाद गरिएको थियो । हुवावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पन्हुरले ‘एआई ट्रेन्ड्स एन्ड इन्टरप्राइज सोलुसन्स’ विषयमा प्रस्तुतीकरण गर्दै व्यावसायिक क्षेत्रमा एआई प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गरे । एआईको प्रयोगले उत्पादकत्व वृद्धि, लागत व्यवस्थापन र निर्णय प्रक्रियामा सुधार ल्याउने बताए ।
त्यस्तै, डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाहले ‘नेक्स्ट जेन डेटा सेन्टर सोलुसन फर एक्सिलरेटिङ डिजिटलाइजेसन’ विषयमा प्रस्तुतीकरण गरे । उनले बढ्दो डिजिटल डेटा व्यवस्थापनका लागि सुरक्षित, दिगो र उच्च क्षमताका डेटा सेन्टर आवश्यक रहेको बताए । त्यसैगरी, प्रभात रेग्मीले ‘फाइभजी ट्रेन्ड एन्ड इन्नोभेसन’ शीर्षकमा प्रस्तुतीकरण गर्दै फाइभजी प्रविधिले सञ्चार, उद्योग तथा सेवा क्षेत्रमा ल्याउने परिवर्तनबारे विस्तृत जानकारी दिए । उनले फाइभजीको प्रयोगले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी), अटोमेसन तथा डिजिटल सेवाहरूलाई नयाँ उचाइमा पुर्याउने बताए ।
कार्यक्रममा हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले विगत २७ वर्षदेखि हुवावेले नेपालमा निरन्तर सेवा दिँदै आएको बताए । उनका अनुसार हाल विश्वका १७० भन्दा धेरै देशमा सेवा प्रदान गर्दै हुवावले करिब दुई लाख सात हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।