काठमाडौं । ओमानस्थित नेपाली दूतावासले मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
२५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार उक्त कार्यक्रम गरिएको दुतावासले जनाएको छ । कार्यक्रममा ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको महत्व र भगवान् बुद्धका शिक्षाबारे प्रकाश पार्दै श्रम सचेतनाको आवश्यकता तथा नेपाल–ओमानबीच व्यापार, निर्यात र लगानीका सम्भावनाको खोजीमा जोड दिएका थिए । राजदूत अर्यालले आर्थिक कूटनीति प्रवर्द्धन, निर्यात र लगानीका अवसर पहिचान तथा नेपाली श्रमिकको हित संरक्षणमा दूतावासले गरिरहेका प्रयासका साथै नेपालमा व्यापार, निर्यात र लगानीका सम्भावना, नेपालको आर्थिक हित प्रवर्द्धनमा आमानस्थित नेपाली समुदायको भूमिकाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा निर्यात तथा लगानी प्रवद्र्धन, श्रम सचेतना तथा बुद्ध जयन्ती र श्रमिक दिवसका सन्दर्भमा छलफल भएको थियो । त्यस अवसरमा नेपाली सामाजिक क्लबका प्रतिनिधि, विज्ञ समूहका सदस्य, नेपाली व्यवसायी, उद्धार टोलीका सदस्य तथा समुदायका अन्य सदस्य गरी ७८ जनाको सहभागिता रहेको दूतावासले जनाएको छ ।