काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीबाट विस्थापित भएर ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन निजी विद्यालयलाई आग्रह गरेको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउन प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग आग्रह गरेकी हुन् । निजी तथा संस्थागत विद्यालयका सङ्घसङ्गठनका पदाधिकारीसँग भएको छलफलमा उनले राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकालाई संस्थागत विद्यालयमा आवासीय सुविधासहित निःशुल्क र नियमित अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् । नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा बालबालिकाको अध्ययनमा नकारात्मक असर परिरहेको छ । सोसम्बन्धमा अहिले कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रममा रहेका बालबालिकालाई आवास सुविधासहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयबाट सहयोगको अपेक्षा गरेका छौँ । उनले भनिन्, ‘अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाको शिक्षाका लागि सबैले मिलेर पहल गरौँ । उनीहरूलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’
महानगरेको प्रस्तावमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याब्सनका महासचिव आवि कटुवाल, एनप्याब्सनका महासचिव प्रकाश खड्काले वर्तमान अवस्थामा बालबालिकाको शिक्षा नियमित गर्ने सन्दर्भमा कामपाले सहकार्यका लागि अघि सारेको पहलले आफूहरूलाई पनि जिम्मेवार बोध गराएको उल्लेख गरेका थिए । छलफलमा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, काठमाडौँका जिल्ला अध्यक्ष अमृत खड्का, काठमाडौँ महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डे सहभागी थिए । कार्यवाहक प्रमुखको प्रस्तावका विषयमा प्याब्सन र एनप्याब्सनको बैठक बसेर आफूहरूले पूरा गर्नुपर्ने दायित्वका विषयमा कामपालाई खबर गर्ने अधिकारीहरूले जनाएका छन् ।