काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही व्यवसायी र पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो कब्जामा पारेपछि सरकार निर्मम बन्न परेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल आइतबार छलफल गर्दै उनले सुशासनको कायम गर्नेक्रममा गलत गर्नेलाई सरकारले कारबाही गर्ने बताए । उनले राज्यको अनुसन्धानमा सहयोग गर्नुपर्ने भएमा सहयोग गरिदिन आग्रह गरे । तर रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन उनले उद्योगी–व्यवसायीलाई अनुरोध गरे । सरकारको उदेश्य निजी क्षेत्रलाई त्रसित पार्ने नभई सहकार्य गर्ने रहेको उनको भनाइ छ । निजी क्षेत्रको सहयोगमा देशको आर्थिक विकास गर्नेगरी रास्वपाले रोडम्याप तयार पारेको उनले जानकारी दिए । उनले भने, ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।’
उनले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको पनि बताए । उनले विगमा जस्तो अब समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले नेताको घर र पार्टी कार्यालय धाउनै नपर्ने बताए । नीतिबाट नै उद्योगी व्यवसायीको सुरक्षा गर्ने उनको दाबी छ । ‘तपाईंले मलाई र पार्टी कार्यालयलाई देख्नु पर्दैन, टेक्नु पर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ । पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला, तर हामी फरक ढङ्गबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौँ,’ उनले भने । उनले उद्योगी व्यवसायीसंग आर्थिक लाभ लिने आफूहरूको कुनै चाहाना नरहेको बताए । साथै उनले उद्योगी व्यवसायीहरूलाई रोजगारी सिर्जना गर्ने, उद्योग खोल्नेतिर लाग्न सुझाव दिए । लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । उद्योग कलकारखाना खोल्ने काम निजी क्षेत्रकै भएको बताए । उनले हाल जीर्ण रहेका उद्योगहरूलाई अध्ययन गरेर संचालन गर्न सकिने भएमा निजी क्षेत्रको सहकार्यमा नै संचालनमा ल्याउने बताए ।
उनले स्वदेशी उद्योगी तथा व्यवसायीको प्रोत्साहनको र तस्करी नियन्त्रणको सीमा क्षेत्रमा सरकारले कडाइ गरेको बताए । सीमामा भएको कडाइले स्वदेशी व्यवसायीलाई फाइदा पुगेको उनको भनाइ छ । यद्यपि उपभोक्तालाई पनि सहज हुनेगरी नीति बनाउन लागिएको उनले जानकारी दिए ।
छलफलमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गरे । ‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ । हामी हरेक आन्दोलनको मुख्य निसानामा परिरहेका छौँ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो’, उनले भने । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको बताए । सरकारले उद्योगी व्यवसायीहरूलाई धमाधम पक्राउ गरेपछि निजी क्षेत्रले असन्तुष्टी जनाएको थियो । निजीको असन्तुष्टीलाई साम्य पार्न सभापति लामीछानेले आइतबार छलफल गरेका थिए ।