काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वैशाख ३० गतेदेखि सामूहिक लगानी कोष ‘एलएस होराइजन १२’ को इकाइ सार्वजनिक निष्कासनमा ल्याउने भएको छ ।
क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याउन लागेको हो । लक्ष्मी सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको हुनेछ । निष्कासन गरिने कुल १२ करोड इकाइमध्ये एक करोड ८० लाख इकाइ बीज पुँजीबापत कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिने छ । लगानीकर्ताले न्यूनतम एक सयदेखि अधिकतम एक करोड २० लाख इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त फन्डमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म सबै इकाइ बिक्री नभएमा आवेदन म्याद जेठ १३ गतेसम्म थप गरिने क्यापिटलले जनाएको छ ।
फन्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नै रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सी–आस्वा प्रयोग गरी पनि आवेदन दिन सकिने छ । म्युचुअल फन्ड निष्कासनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई ‘केयर एनपी ट्रिपल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग दिएको जनाएको छ ।