काठमाडौँ ,इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धान अघि बढाउँदै आइतबार विभिन्न स्थानमा एकसाथ छापा मारेको हो। विभागका अनुसार काठमाडौँको सुन्धारास्थित कार्यालय, ललितपुरको हात्तीवनस्थित निजी निवास, साथै हेटौंडास्थित घर र कार्यालयमा टोली परिचालन गरिएको थियो। ‘क’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि वित्तीय अनियमिततासम्बन्धी आशंकाका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ। हात्तीवनस्थित निवासमा गरिएको छापामार कारबाही सम्पन्न भइसकेको छ भने सो क्रममा केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। ती कागजातको अध्ययनपछि थप अनुसन्धान अगाडि बढाइने विभागले संकेत गरेको छ। बानियाँ २०८२ साउन २० गते नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनी पार्टीका बागमती प्रदेश सभापतिसमेत हुन्।