विराटनगर । उद्योग संगठन मोरङको महिला उद्यम समितिले महिलाहरूका लागि स्वस्थ स्न्याक्स बनाउने तालिम सञ्चालन गरेको छ ।
स्वास्थ्यमैत्री र बजारमुखी खाजा वनाउने व्यावहारिक ज्ञान तथा सीप विकासका लागि दुुईदिने तालिमको आयोजना गरिएको हो । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले मानिसहरूमा स्वास्थ्यप्रतिको सचेतना अभिवृृद्धि भइरहेको सन्दर्भमा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानाको माग पनि उल्लेखनीय रूपमा वृद्धि भएको बताए । यही आवश्यकतालाई मध्यनजर गरी उद्योग संगठन मोरङले तालिम आयोजना गरेको जानकारी दिए । उक्त तालिमले सहभागी महिलाहरूमा निहित स्न्याक्स बनाउने सीपलाई व्यवसायिक अवसरमा रूपान्तरण गर्ने दृष्टिकोण समेतले विकास गराउने उनको विश्वास छ ।
उद्योग संगठन मोरङकी सदस्य किरण ब्यासले स्वस्थ खाजा उत्पादन, आयआर्जनको राम्रो माध्यम बन्न सक्ने बताइन् । उनले यस प्रकारको तालिमले महिलाहरूमा रहेको सीपलाई व्यवसायिक रूपान्तरण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । त्यसैगरी महिला उद्यम समितिकी संयोजक जयन्ती आचार्यले तालिमले परिकार बनाउने मात्र नभई त्यसलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने सोच विकास गराउने बताइन् । साथै राम्रो उत्पादनसँगै राम्रो प्रस्तुति भएमा मात्र बजारमा प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ । तालिमका प्रशिक्षक अखिलेश प्रताप सिंहले सहभागीहरूलाई स्वस्थ स्न्याक्स निर्माणका व्यावहारिक विधिहरू सिकाएको बारेमा जानकारी दिदै स्वच्छता, खाद्य सुरक्षा तथा व्यावसायिक खाजा व्यवस्थापनसम्बन्धी ज्ञानले जिम्मेवार उद्यमी बन्न सहयोग पुग्ने बताए ।
साथै सिंहले महिलाहरूको सीप विकास, आयआर्जन तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्न थप सहयोग पुग्ने अपेक्षा गरे ।