गुल्मी । आजदेखि छत्रकोट गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका अध्यक्ष रामपसाद पाण्डेले गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सुरु गरिएको जानकारी दिएका छन् ।
चारतले उक्त भवनमा अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा आवतजावत गर्न लिफ्टको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा सभाहल, बैठक कक्ष र कर्मचारीका लागि आवाससहित ३२ वटा कोठा छन् । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा नौ करोड १० लाख ९९ हजार ४३५को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए ।
भवन निर्माणका लागि अम्बेमाँ बलदेव जेभी, भरतपुरले जिम्मा पाएको थियो ।
२०८२ असार ५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले सम्झौता गरेको भए पनि निर्धारित समयभन्दा दुई महिना अघिनै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।