ढाका, पुस १०
बंगलादेशले बन्दरगाह हुँदै आयात तथा निर्यात हुने वस्तुमा विद्युतीय सिलबन्दी प्रयोग गर्ने तयारी गरेको छ । बंगलादेशको राजस्व प्राधिकरणले अनिवार्य रुपमा विद्युतीय सिलबन्दी प्रयोगको व्यवस्था गर्न लागेको हो । द डेली स्टार अनलाइनका अनुसार सन् २०१७ मै नेशनल बोर्ड अर्फ रेभेन्यु (एनबीआर)ले विद्युतीय सिल तथा लकसम्बन्धी नियम ल्याएको थियो । तर उक्त नियमको कारण लागत खर्च बढ्ने भन्दै व्यापक विरोध भएपछि लागू हुनसकेको थिएन ।
एनबीआरले उक्त नियम लागू गर्न व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बंगलादेशका सबै भन्सार अधिकारीका लागि आगामी मार्च १ देखि नयाँ पोशाक अनिवार्य गरिएको पनि एनबीआरले जनाएको छ । उक्त नयाँ प्रणाली स्थानीय व्यवसायीले भारत, नेपाल र भुटानमा आयातनिर्यात गर्दा प्रयोग गर्नुपर्ने बताइएको छ । उक्त प्रणाली चटगाउँ र मंगोला बन्दरगाहबाट आयात निर्यात हुँदा लागू हुने पनि उल्लेख गरिएको छ । यसका लागि एनबीआरले आयातनिर्यात वस्तुको परीक्षण बढाउन थप स्क्यानर समेत खरिद गरेको छ ।