रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले उक्त अध्यादेश सोमबार जारी गरेका हुन्।यसअघि सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये सात वटा मात्र जारी गरेका राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेशलाई जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले अन्ततः जारी गरेका हुन्। नयाँ अध्यादेशअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न कम्तीमा चार सदस्य उपस्थित भए पुग्नेछ। साथै, उपस्थित सदस्यहरूको बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। छ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यहरूमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष रहने प्रावधान छ। अध्यादेश जारी भएसँगै संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया अघि बढ्ने बाटो खुलेको सरकारको भनाइ छ भने यस विषयमा राजनीतिक दलहरूबीच बहस र विवाद चर्किने संकेत देखिएको छ।