सर्वेश जोशीलाई प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो।
जोशीले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र लिएका थिए। तर समयमै नवीकरण नगरेपछि उक्त अनुमतिपत्र २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको थियो।
अनुमतिपत्र रद्द भएसँगै स्मार्ट सेलसँग सम्बन्धित सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना तथा सञ्जालको स्वामित्व प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।प्रहरीका अनुसार त्यसपछि पनि जोशीले ती सम्पत्तिमा अनधिकृत हस्तक्षेप गर्दै सरकारको हक नोक्सान पुर्याउने उद्देश्यले गतिविधि गरेको आरोप लागेको छ। सोही आधारमा उनलाई ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।