काठमाडौं । सरकारले ल्याएको नयाँ अध्यादेशअनुसार विभिन्न मन्त्रालयमातहतका निकायबाट ८३ जना स्वतः पदमुक्त भएका छन् । यसअनुसार अर्थ मन्त्रालयबाट ३१, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ३३ र युवा तथा खेलकुद मन्त्रालयमातहतबाट १९ जनाको पद गएको हो ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशअनुसार उनीहरू पदमुक्त भएको सूचना सम्बन्धित मन्त्रालयहरूले दिएका छन् । जसअनुसार अर्थ मन्त्रालयमातहतको निकाय कर्मचारी सञ्चय कोषबाट अध्यक्ष भुपाल बराल, सदस्यहरू डा. धनिराम शर्मा, ईश्वर कार्की, विनोद थापा, प्राडा ताराप्रसाद भूसाल, देवेन्द्र रमण खनाल, कोषका प्रशासक जितेन्द्र धिताल र प्रशासक जितेन्द्र धितालको पद गएको छ ।
त्यसैगरी नागरिक लगानी कोषबाट अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्तराज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पनि पदमुक्त हुनपुगेका छन् । यसबाहेक नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था परिषद् गठनतर्फ तीन जना सदस्यहरू कुमार राई, थान प्रसाद पंज्ञानी, श्याम प्रसाद भण्डारी, लेखामान बोर्ड गठनतर्फ अध्यक्ष सुनिल कुमार ढुंगेल, ५ सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती र विदुर लुइँटेल तथा सदस्य पोषराज नेपालको जागिर गएको छ । लेखापरीक्षणमा बोर्डतर्फ अध्यक्ष जगन्नाथ उपाध्याय निरौला र तीन सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान र गणेशराज राई पनि पदमुक्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यता, धितोपत्र बोर्डतर्फ सदस्य पिताम्बर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रिक्त सदस्यसहित सदस्य प्रकाश जंग थापा र प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेको पनि पद गएको छ । नेपाल बीमा प्राधिकरणतर्फ जीवन बीमा सदस्य डा. गणेश प्रसाद पाण्डे, निर्जीवन बीमातर्फ रिक्त सदस्यको पद गएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट पदमुक्त हुने ३३ जनामा पशुपति क्षेत्र विकास कोषका नौ जना, नेपाल वायुसेवा निगमका दुई जना, सांस्कृतिक संस्थानहरूबाट दुई जना, लुम्बिनी विकास कोषका ११ जना, नेपाल पर्यटन बोर्डका छ जना, नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जना र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का एक जना छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मासहित सदस्यहरू श्रीधर सापकोटा, हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबुशरण सुवेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगल, रेनुका पराजुली र राजुकुमार खत्री छन् । त्यसैगरी निगमबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा पदमुक्त भएका छन् भने सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्र कुमार राई र सदस्य पुजा श्रेष्ठ पनि पदमुक्त भएका छन् ।
लुम्बिनी विकास कोषबाट उपाध्यक्ष ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव डा. दीपक श्रेष्ठसहित सदस्यहरू श्यामबहादुर मिजार, गोपीकृष्ण शर्मा, विश्वराज पौडेल, राम नरेश कोदार, श्रीराम यादव, राजेश शाक्य, प्रकाश भट्टराई र धनराज कँडेल पदमुक्त हुँदा नेपाल पर्यटन बोर्डबाट कार्यकारी निर्देशक दीपक जोशीसहित सदस्यहरू नरेन्द्र कुमार देव, कुमार मणि थपलिया, ऋषिराम भण्डारी, राजेन्द्र बहादुर लामा र रामप्रसाद सापकोटाको पद गएको छ ।
प्राधिकरणबाट सदस्यद्वय रविन्द्र सिलवाल र भीमप्रसाद पन्त पदमुक्त भएका छन् भने बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बाट अध्यक्ष शितल साहु पुर्वेसहित परिषद् ऐन २०५५ को दफा ६ को उपदफा १ को खण्ड ड, ढ र दफा ९ को उपदफा २ को खण्ड ६ अनुसारका सदस्य तथा दफा १७ अनुसार नियुक्ति भएका कार्यकारी निर्देशकसहितका पदाधिकारी स्वतः पदमुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय खेलकुद परिषद्बाट पदमुक्त हुने १९ जनामा राखेपका उपाध्यक्ष ध्रुव आचार्यसहित सदस्यहरू नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्ति कुमारी चौधरी, आनन्द कुमार झा, हिमाल कुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, डा. मधुसुधन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुंगाना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का, सन्तकुमार मेहता र जगत बहादुर टमाटा छन् ।