काठमाडौं । एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक तथा सीएनआईका पूर्वअध्यक्ष विष्णु कुमार अग्रवालविरुद्ध ठगी गरेको भन्दै मुद्दा दर्ता भएको छ । एमाहा मोटरसाइकल, स्कोडा, नामी आइचर, फोटोन, जिपलगायत दर्जनौँ अटोमोबाइलहरूको बिक्रेता रहेको एमएडब्लू इन्टरप्राइजेजका मालिक विष्णु अग्रवालविरुद्ध उपभोक्ता अदालतमा पहिलो पटक मुद्दा परेको हो ।
उपभोक्ता अदालतमा परेको मुद्दामा ‘एमबी क्रसर बकेट’ मेसिन खरिद गर्दा ठगीमा परेको उल्लेख छ । कुन्सालिंग कन्स्ट्रक्सन प्रालिले ठगिएको भन्दै आपूर्तिकर्ता कम्पनी एमएडब्लू इन्टरप्राइजेजविरुद्ध उपभोक्ता अदालतमा दायर गरेको मुद्दामा कम्पनीले करिब ५८ लाख रुपैयाँमा खरिद गरेको ‘एमबी क्रसर बकेट’ नामक मेसिनले सम्झौता र सर्तअनुसार काम नगरेको, त्यसका कारण करोडौँ रुपैयाँबराबरको आर्थिक क्षति भएको र परियोजना नै प्रभावित भएको दाबी र सम्झौतासहित कुन्सालिंग कन्ट्रक्सन प्रालिले उपभोक्ता अदालतमा मुद्दा हालेको पाइएको हो ।