काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले अटोमोबाइल वस्तुहरुमा अधिकतम मूल्य सूची (एमआरपी)सहितको स्टिकर टाँस्ने व्यवस्थालाई सहजीकरण गरिदिन सरकारसंग माग गरेको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटी अटोमोबाइल वस्तुहरुमा अधिकतम मूल्य सूचीसहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको हो । अध्यक्ष उप्रेतीले एमआरपी लागू गर्ने व्यवस्थाले स्वाभाविक रुपमा उत्पादन र आयात व्यवसायलाई थप व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउने बताए । साथै सरकारले प्राप्त गर्ने राजस्वमा समेत बृद्धि हुने र यसले आधिकारिक रुपमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी र व्यवसायीहरुलाई समेत प्रोत्साहित गर्ने बताए । सरकारको यस दीर्घकालीन नीतिसँग नाडा मन्त्रालयसँग सहकार्य गरी अघि बढ्न चाहेको उनको भनाइ छ । अध्यक्ष उप्रेतीले नेपालमा अहिले सिकेडी मोडेलमा थुप्रै चारपांगे्र तथा दुईपांगे्र सवारीसाधनहरुको उत्पादन भइरहेको बताए । हाल टायर, लुब्रिकेन्ट्स् र ब्याट्रीहरु पनि नेपालमै उत्पादन भइरहेको उनको भनाइ छ । तर एउटै बक्सभित्र सयौँको संख्यामा आउने अटोमोबाइल स्पेयर पाट्र्सहरुको हकमा भने त्यसलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने व्यावहारिक समस्या रहेको उनले बताए । भन्सारमा वन्डेड वेयर हाउस समेतको व्यवस्था नभएको अवस्थामा अटोमोवाइल वस्तुहरुमा भन्सार यार्डभित्रै अधिकतम मूल्य सूचीसहितको स्टिकर टाँस्नुपर्ने व्यवस्था पनि व्यावहारिक नहुने भएकोले यी विषयहरुमा सरकारले यसलाई कसरी थप व्यावहारिक र कार्यान्वयनयोग्य बनाउने भन्ने सम्बन्धमा व्यवसायीहरुका लागि सहजीकरण गरिदिनुपर्नेे आवश्यकता रहेको अध्यक्ष उप्रेतीको भनाइ थियो ।
मन्त्री यादवले नाडाले दिएका सुझावहरु व्यावहारिक रहेकोले यसलाई सम्बोधन गरिने बताइन् । सो छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिले नाडाले नै पहिलो पटक सरकारलाई एमआरपी र स्टिकरको विषयमा राय सुझाव दिएको जानकारी दिए । त्यसैगरी नाडाका सचिव मेघराज पौडेलले अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्ने सम्बन्धमा देखिएको व्यावहारिक कठिनाइहरुबारे जानकारी गराएका थिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विदेशबाट पैठारी गरी नेपालमा बिक्रीवितरण गरिने सम्पूर्ण वस्तुहरुमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । साथै वस्तु बिक्री गर्दा अनिवार्य रुपमा बिल बिजक जारी गर्ने, त्यसैगरी उद्योगहरुको हकमा उद्योगले वस्तु उत्पादनकै क्रममा प्याकेजिङमा मूल्य, ब्याच नम्बर, तौल र म्याद स्पष्ट देखिनेगरी स्थायी लेवल राख्नु पर्ने विभागले जनाएको छ ।