काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा.डा.जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिनसमेत रहेका डा.अग्रवालले अब मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारसम्बन्धी विषयमा प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्वको रूपमा डा. अग्रवालको नियुक्तिले सरकारलाई नीतिगत तथा प्राविधिक सहयोग पुग्ने विश्वास गरिएको छ। उनले आइओएम जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गरिसकेको अनुभवका आधारमा देशको स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले आफ्नो कार्यकालमा सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राखेका बेला डा.अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।विशेष कुरा के छ भने डा.अग्रवालले यस पदका लागि राज्यबाट कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई पूर्ण रूपमा अवैतनिक रूपमा आफ्नो विशेषज्ञता र समय उपलब्ध गराउनेछन्।