म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि सञ्चालित योजना अलपत्र छ ।
केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारमा भएको ढिलाइले रातको समयमा उज्यालो, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, विद्यालयमा कम्युटर विषयको पठनपाठन, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रवाह र कुटानी पिसानी मिल सञ्चालनमा समस्या भएको छ । पन्थोकस्थित भीम माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक डम्मरबहादुर घर्तीले दुई वर्षअघि सुरु भएको विद्युतीकरण योजनाले पूर्णता नपाउँदा बिजुलीको आशामा रहेका स्थानीयवासी निराश भएका बताए । एक सय ३२ परिवारको बसोबास रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मतका लागि गत वैशाख ८ गतेदेखि बन्द गरिएको छ । ‘हामी अन्धकारमा बस्न बाध्य छौँ, ७२ परिवारको बसोबास रहेको जुग्जामा विद्युतीकरणका लगेका पोल र तार बाटोमै थन्किएका छन्’, उनले भने ।
पोल गाड्ने, मुख्य लाइन तान्ने काम सकिएको पन्थोकका बासिन्दाले वायरिङ गरिसकेका छन् । मिटरबक्स जडान र कालोतार जोड्न बाँकी छ । जुग्गामा पोल गाड्न, तार तान्न, ट्रान्सफर्मर जडान गर्नेलगायतका धेरै काम बाँकी छन् । लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जाबाट उज्यालोका लागि बिजुली बाले पनि कम्युटर, मिल, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा असर परेको घर्तीले बताए । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत पन्थोक र जुग्जालगायतका म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान गर्ने काम गर्न २०८१ असोजमा बेनीको न्यू ढुङ्गाना निर्माण सेवाले ठेक्का लिएको थियो ।