काठमाडौं । पछिल्लो समय पश्चिम एसियामा चर्किँदो द्वन्द्वका कारण नेपालको पर्यटन आगमनमा असर देखिएको छ । पर्यटकको आउने सिजनमा द्वन्द्वले हवाई पहुँचमा अवरोध सिर्जना भएपछि अप्रिल महिनामा पर्यटक आगमनमा केही असर परेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सन् २०२६ को अप्रिलमा एक लाख सात हजार नौ सय ३४ पर्यटक भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार चार सय ९० पर्यटक भित्रिएका थिए । नेपालमा पर्यटक संख्यामा वृद्धि गर्नका लागि डिजिटल मार्केटिङ, तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीतिहरू गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार अप्रिल महिनामा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार चार सय ३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो । यस्तै दक्षिण एसियाबाट एसियाली राष्ट्रबाट २६ हजार सात सय २६ पर्यटक भित्रिएका छन् भने युरोपबाट २१ हजार नौ सय ८८, आसियानबाट पाँच हजार आठ सय ९८, अमेरिकाबाट दुई हजार पाँच सय १८, पश्चिम एसियाबाट एक हजार छ सय ९७ र अफ्रिकी मुलुकबाट तीन सय १५ र अन्य मुलुकबाट १५ हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् भने भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ । अन्य एसियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको बोर्डले जनाएको छ । यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको बोर्डको भनाइ छ ।
बोर्डका अनुसार भारतबाट १५ हजार एक सय ९६, चीनबाट ११ हजारसात सय २२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट पाँच हजार दुई सय ३१ पर्यटक भित्रिएका छन् । कोरोना महामारी अघि सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए ।