भरतपुर । भरतपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनसम्बन्धी नीति निर्माणलाई प्राथमिकता दिने भएको छ । महानगरका कार्यबाहक नगरप्रमुख चित्रसेन अधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका लागि नीतिनिर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
युरोपियन युनियनको सहयोगमा क्रीएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजना अन्तर्गत फोहोरमैला व्यवस्थापन नीतिनिर्माणका लागि आयोजित प्रारम्भिक कार्यशालामा बोल्दै अधिकारीले महानगरपालिकाको टोली यस विषयमा गम्भीरतापूर्वक लागि परेको जानकारी दिए । उनले दीर्घकालीन रूपमा प्रभावकारी फोहोरमैला व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा क्रीएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले भरतपुर महानगरका लागि आवश्यक कानुन निर्माणमा सहयोग पुर्याउनु परियोजनाको महत्वपूर्ण उद्देश्य रहेको बताइन् । उनका अनुसार स्थानीय तहमा दिगो फोहोरमैला व्यवस्थापन प्रणाली विकास गर्न नीतिगत आधार बलियो बनाउनुपर्ने आवश्यकता रहेको छ ।
कार्यशालामा वातावरण अभियन्ता, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक समाज, व्यवसायी तथा फोहोरमैला संकलनकर्ताहरूले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी, व्यावहारिक र दिगो बनाउने विषयमा आफ्ना धारणा राखेका थिए । भरतपुर महानगरपालिकाको फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर बिराट घिमिरेले क्रीएसन नेपालसँगको सहकार्यले महानगरका लागि उपयुक्त र प्रभावकारी नीति निर्माणमा महत्वपूर्ण कडी साबित हुने बताए ।