जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा करिब दुई अर्ब रुपैयाँको लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ । मिथिला हस्पिटालिटीले हालै भूमि पूजन गर्दै परियोजनालाई अघि बढाएको हो ।
१२४ कोठा क्षमताको आधुनिक सुविधासम्पन्न होटल जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा निर्माण हुनेछ । कम्पनीका अध्यक्ष रामेश्वर साहका अनुसार होटल तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । उनले यो परियोजनाले जनकपुरलाई ‘वेडिङ डेस्टिनेसन’का रूपमा स्थापित गर्ने बताए । भूमि पूजन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरमा पहिलो पाँचतारे होटल निर्माण हुनु सकारात्मक संकेत भएको बताए । उनले लगानीकर्तालाई ‘विकासका साझेदार’का रूपमा लिनुपर्नेमा जोड दिँदै लगानीमैत्री वातावरण आवश्यक रहेको उल्लेख गरे ।
चितवनमा ‘रोयल टुलिप’ सञ्चालन गरिरहेका व्यवसायी साहको नेतृत्वमा निर्माण हुन लागेको यो होटलले जनकपुरको पर्यटन, आतिथ्य र आर्थिक गतिविधिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । परियोजनामा ऊर्जा क्षेत्रका व्यवसायी काजी लामा, सुदीप चौधरी, उदयकान्त झा तथा ज्ञानेन्द्र ढुङ्गानालगायतका लगानीकर्ताको सहभागिता रहनेछ ।