काठमाडौं । इनड्राइभ, वर्ल्ड इकोनोमिक फोरम (डब्लुईएफ)को ‘युनिकर्न कम्युनिटी’मा आधिकारिक रूपमा आबद्ध भएको छ । युनिकर्न कम्युनिटीमा इनड्राइभको सहभागिताले निष्पक्ष पहुँच, आर्थिक अवसरको विस्तार तथा समावेशीतालाई थप प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
यसको मानव–केन्द्रित प्लेटफर्म मोडेलले यात्रु र चालकबीच प्रत्यक्ष मूल्य वार्ताको सुविधा उपलब्ध गराउँदै डिजिटल बजारमा पारदर्शिता र विश्वासलाई मजबुत बनाउने कम्पनीको भनाइ छ । साथै, महिला उद्यमशीलता, शिक्षा, कला तथा समुदाय–केन्द्रित पहलहरूमा सञ्चालन भइरहेका गैरनाफामूलक कार्यक्रममार्फत सामाजिक प्रभाव विस्तार गर्ने कम्पनीको प्रतिबद्धता पनि सुदृढ हुँदै गएको छ ।
वर्ल्ड इकोनोमिक फोरम सार्वजनिक–निजी सहकार्यलाई प्रवर्द्धन गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो, जसले नवप्रवर्तन, उद्यमशीलता र सहकार्यको माध्यमबाट विश्वव्यापी चुनौतीहरूको समाधान खोज्न र दीगो भविष्य निर्माण गर्न नेतृत्वदायी संवादलाई अघि बढाउने जनाइएको छ । फोरमअन्तर्गतको युनिकर्न कम्युनिटी ‘ग्लोबल इनोभेटर कम्युनिटी’को एक महत्वपूर्ण अंग हो, जसले सार्वजनिक तथा निजी क्षेत्रका नेतृत्वहरूसँग सहकार्य गर्दै वर्तमान संकट समाधान र दिगो विकासका लागि नयाँ मार्गचित्र तयार गर्न सहयोग पुर्याउँछ । नेपालका विभिन्न सहरहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको इनड्राइभले प्रविधिको प्रभावकारी प्रयोगमार्फत आम नागरिकका लागि अझ न्यायोचित र समावेशी डिजिटल अर्थतन्त्र निर्माणमा सक्रिय योगदान पुर्याउँदै आएको छ ।
हाल इनड्राइभ विश्वका ४८ भन्दा बढी देशका एक हजारभन्दा बढी सहरहरूमा सञ्चालनमा रहेको छ र यो विश्वकै सबैभन्दा धेरै डाउनलोड हुने मोबिलिटी एपहरूमध्ये एकको रूपमा स्थापित भइसकेको छ, विशेषगरी उदीयमान बजारहरूमा यसको प्रभाव उल्लेखनीय रहेको छ । कम्पनीको ‘पियर–टु–पियर’ मूल्य निर्धारण मोडेलले यात्रु र चालकलाई प्रत्यक्ष रूपमा भाडा तय गर्ने सुविधा प्रदान गर्दै सेवामा पहुँच विस्तार र सेवा प्रदायकहरूको आम्दानीमा न्यायोचितता सुनिश्चित गर्ने गरेको छ ।