काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड–२ को बिक्री खुल्ला भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडले वैशाख २१ गते सोमबारदेखि सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फन्ड–२को इकाइ निष्कासन तथा बिक्री खुला गरेको हो । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने उक्त योजना १२ वर्षे बन्दमुखी प्रकृतिको हो ।
कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा कुल एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाइ बिक्री गरेको हो । जसमध्ये न्यूनतम एक करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिद्धार्थ बैंक र बाँकी आठ करोड ५० लाख इकाइ सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो ।
लगानीकर्ताहरूले न्यूनतम एक सय इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन् । उक्त फन्डमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ । यो फन्डको निष्कासन तथा बिक्री प्रबन्धक पनि सिद्धार्थ क्यापिटल लिमिटेड नै रहेको छ ।