नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकम प्रालिको कर्जा असुली प्रक्रिया कानुनी रूपमा अघि बढाइएको स्पष्ट पारेको छ । बैंकले प्रस्टीकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नै कर्जा असुलीमा गएको दाबी गरेको हो ।ऋणी कम्पनीले पटक–पटकको मौखिक तथा लिखित आग्रहपछि पनि कर्जा नियमित नगरेकाले धितो लिलामी प्रक्रियामा जानुपरेको र उक्त प्रक्रिया विधिसम्मत नै रहेको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ को उपदफा १ मा उल्लेख भएको व्यवस्थाअनुरूप बैंकले ऋणी स्मार्ट टेलिकम प्रालिको कर्जा असुली प्रक्रिया अगाडि बढाएको बैकले उल्लेख गरेको छ । बैंकका अनुसार उपदफा १ अनुसार ऋणीले कर्जा लेनदेनसम्बन्धी लिखत वा करारमा उल्लिखित सर्त कबुलियतको पालना नगरेमा वा लिखत वा करारको भाकाभित्र कर्जा र सोमा लागेको ब्याज वा हर्जाना चुक्ता नगरेमा वा दफा ५६ बमोजिम अनुगमन गर्दा ऋणीले जुन प्रयोजनको लागि कर्जा लिएको हो सो प्रयोजनमा नलगाई दुरुपयोग गरेको देखिएमा कर्जा लेनदेनसम्बन्धी लिखत वा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ऋणीले बैंक वा वित्तीय संस्थालाई लेखिदिएको वा धितो राखेको सुरक्षणलाई लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाले आफ्नो साँवा, ब्याज असुलउपर गर्न सक्ने उल्लेख छ ।
यसअनुसार एउटै धितोको सम्पत्तिमा रहेका धितोको हकको प्राथमिकतासम्बन्धी व्यवस्थामा पनि यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एउटै धितोको सम्पत्तिमा एकभन्दा बढी व्यक्तिको धितोको हकको सिर्जना भएको अवस्थामा सूचना दर्ता भएको र सूचना दर्ता नभएको धितोको हकमध्ये सूचना दर्ता भएको धितोको हकले प्राथमिकता पाउनेछ । सूचना दर्ता भएको धितोको हकमा पनि त्यस्तो धितोको हकले धितोको हकको सूचना दर्ता गराएको समय वा धितोको हक परिपक्व भएको समयअनुसार प्राथमिकता पाउने उल्लेख छ । सोही व्यवस्थाका आधारमा सम्पत्ति लिलाम गरी बैंकले आफ्नो कर्जा असुली गरेको बैंकले भनेको छ ।
बैंकका अनुसार स्मार्ट टेलिकम प्रालिलाई यस बैंकको नेतृत्वमा प्राइम कमर्सियल बैंक लिमिटेडसहितको सहवित्तीयकरणमा २०७४ सालदेखि विभिन्न ऋण तथा बैंकिङ सुविधा उपलब्ध गराइएको थियो । यसको लागि कम्पनीको दूरसञ्चार सेवा विस्तार तथा सञ्चालनका लागि प्रयोग भएका उपकरण तथा सामग्रीहरू धितोका रूपमा राखिएका थिए । ती सम्पत्तिहरू सुरक्षित कारोबार ऐन, २०६३ अनुसार विधिवत् दर्ता गरिएको बैंकले जानकारी दिएको छ । बैंकले प्रस्ट पारेअनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ ले ऋणीले सम्झौताअनुसार कर्जा तथा ब्याज नतिरेमा धितोमा राखिएको सम्पत्ति लिलाम बिक्री गरी साँवा–ब्याज असुल गर्न बैंकलाई अधिकार दिएको छ । ऐनमा एउटै धितोमा एकभन्दा बढी दाबी भए सूचना दर्ता भएको धितोको हकले प्राथमिकता पाउने व्यवस्था पनि रहेको उल्लेख गरिएको छ ।
बैंकका अनुसार सुरुमा स्मार्ट टेलिकमको ऋण नियमित रहे पनि पछि कम्पनीले मूलधन र ब्याज भुक्तानी गर्न छाडेको थियो । त्यसपछि बैंकले पटक–पटक सम्पर्क गरी ऋण नियमित गर्न आग्रह गरेको जनाएको छ । तर ऋण नियमित नभएपछि सहवित्तीयकरणको निर्णयअनुसार २०८२ साउन २३ गते राष्ट्रिय दैनिकमार्फत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । त्यसपछि पनि कम्पनीले ऋण चुक्ता नगरेको बैंकको भनाइ छ । प्रस्टीकरणअनुसार स्मार्ट टेलिकमले नै २०८२ भदौ २० गते लिखित निवेदनमार्फत धितो सम्पत्ति लिलामी गरी बाँकी रकम असुल गर्न बैंकलाई पूर्ण अधिकार दिएको थियो । त्यसपछि बैंकले २०८२ असोज ३ गते १५ दिने लिलामी सूचना प्रकाशित गरेको जनाएको छ ।
लिलामी प्रक्रियामा तीन कम्पनीले सिलबन्दी बोलपत्र पेस गरेका थिए । तीमध्ये एनसेल एक्जिटा लिमिटेडले सबैभन्दा बढी चार अर्ब ६० करोड रुपैयाँको प्रस्ताव पेस गरेको बैंकले जनाएको छ । उक्त रकम धितो सम्पत्तिको लेखापरीक्षणपश्चात्को मूल्यभन्दा बढी रहेको तथा बैंकहरूको अधिकांश बक्यौता असुल गर्न पर्याप्त भएकाले सो बोलपत्र स्वीकृत गरिएको उल्लेख छ ।
बैंकका अनुसार एनसेलले निर्धारित अवधिभित्र सम्पूर्ण रकम जम्मा गरेपछि स्मार्ट टेलिकमसँग सम्बन्धित ऋण फाइल २०८२ असोज २७ गते बन्द गरिएको छ । हाल स्मार्ट टेलिकमबाट बैंकले उठाउन बाँकी कुनै रकम नरहेको बैंकको दाबी छ । यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले (एनटीए)ले गैर–नवीकरण इजाजतपत्र भएका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापनसम्बन्धी विनियमअनुसार स्मार्ट टेलिकमका सम्पत्तिमा आफ्नो दाबी प्रस्तुत गरेको थियो । तर बैंकले एनटीएको दाबीभन्दा अघि नै बैंक तथा वित्तीय संस्था ऐनअनुसार सम्पूर्ण सम्पत्तिमा पहिलो धितो अधिकार कायम गरिसकेको जनाएको छ । बैंकले सर्वोच्च अदालतका विभिन्न नजिरहरू उद्धृत गर्दै बैंकको पहिलो धितो अधिकार कायम भइसकेपछि दोस्रो दाबी सिर्जना हुन नसक्ने कानुनी व्याख्या अदालतबाट स्थापित भइसकेको पनि उल्लेख गरेको छ । सोही व्याख्याको आधारमा बैंकले आफ्नो कर्जा असुली गरेको बैंकले जानकारी दिएको छ ।