काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यसअनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयम् उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन ।
नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले ई–सिम डट एनटीसी डट नेट डट एनपी लगइन गरी त्यहाँ रहेको गेट न्यू प्रिपेड ई सिममा क्लिक गरेपछि दिइएको निर्देशनअनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ । त्यसपछि विभिन्न वालेट तथा क्युआर कोडमार्फत रकम भुक्तानी गरेपश्चात् ई–सिमको क्यूआर कोड उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिन्छ । ई–सिम डट एनटीसी डट नेट डट एनपी लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको हो । योभन्दा पहिलेदेखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ ।
नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात् केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत सोही वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।