मधेस प्रदेश सरकारका श्रममन्त्री रामजी यादवका सवारी चालक मुस्तकिम मिया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका छन्। महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मियालाई सोमबार राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार पीडित राजकुमार चौधरीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएका मियामाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार मियाले गत फागुन १४ गते चौधरीलाई दुई मोटरसाइकल प्रयोग गरी अपहरण गरेका थिए। प्रहरी अनुसन्धानमा पीडितलाई बन्दुक देखाएर लुटपाट गर्नुका साथै नग्न बनाएर कुटपिट गरिएको खुलेको छ। जाहेरीअनुसार अपहरणपछि पीडितलाई राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको ‘पर्वत’ भनिने स्थानमा लगिएको थियो। त्यहाँ शरीर बन्धक बनाएर कुटपिट गर्नुका साथै नांगै बनाएर भुइँमा थुक्न लगाई चाट्न बाध्य पारिएको आरोप लगाइएको छ। प्रहरीले पक्राउ परेका मियामाथि अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। मिया श्रममन्त्रीका सवारी चालकका रूपमा नियुक्त भए पनि आफूलाई ‘प्रमुख राजनीतिक सल्लाहाकार’ भनेर परिचय दिने गरेका थिए।